
धादिङ । भारतको कालिङपोंगमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका धनबहादुर तामाङले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जित्न सफल भएका छन्।
प्रतियोगिताको सिनियर (३० वर्ष मुनि) पुम्से विधामा प्रथम स्थान हासिल गरेका तामाङले त्यस्तै सिनियर स्पिड किक विधामा ४५ सेकेन्डभित्र ९५ किक प्रहार गर्दै पुनः प्रथम स्थान हासिल गरेका हुन्।
उक्त प्रतियोगितामा नेपाल, भारत, मलेसिया र भुटानका खेलाडीहरूको सहभागिता रहेको थियो। विभिन्न देशका अनुभवी खेलाडीबीच कडा प्रतिस्पर्धा हुँदाहुँदै पनि तामाङले आफ्नो उत्कृष्ट सीप, अनुशासन र मेहनतको परिचय दिँदै नेपालको तर्फबाट गौरवपूर्ण सफलता दिलाएका छन्।

धनबहादुर तामाङको यस उपलब्धिले धादिङ जिल्लासँगै समग्र नेपाली खेलकुद क्षेत्रको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। उनको सफलताप्रति स्थानीय खेलकर्मी, खेलप्रेमी तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गरेका छन्।
