धादिङमा पुस ९ देखि हुने प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका लागि सहयोगी दाता थपिँदै

Avatar photo
Dhadingpost
पुस २, २०८२

धादिङ । खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, समाजलाई जोड्ने साझा अभियान पनि हो भन्ने उदाहरण धादिङमा देखिन थालेको छ। धादिङबेसीमा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश अन्तर–जिल्ला स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप–२०८२ महिला भलिबल प्रतियोगिताका लागि सहयोगी दाताहरू उत्साहपूर्वक जोडिँदै गएका छन्।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सीमित स्रोतसाधनका बाबजुद पनि महिला खेलकुदलाई अगाडि बढाउने साझा लक्ष्यका साथ स्थानीय व्यवसायी, समाजसेवी र विदेशमा रहेका धादिङबासीहरूले खुलेर सहयोग गरिरहेका छन्।

प्रतियोगितालाई सफल बनाउन हालसम्म विभिन्न व्यक्ति तथा संस्थाबाट उल्लेखनीय आर्थिक सहयोग आउन थालेको छ । यो सहयोग केवल रकम मात्र होइन, महिला खेलाडीहरूको आत्मविश्वास र भविष्यप्रतिको लगानी भएको आयोजकको भनाइ छ।

प्रतियोगितामा विजेता टोलीले रु २ लाख, उपविजेताले रु १ लाख र तेस्रो हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै स्पाइकर, सेटर, डिफेन्स, सर्वर र बेस्ट प्लेयर गरी ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि प्रदान गरिनेछ।

आयोजकका अनुसार सहयोगी दाताहरूको नाम सूचीमा थपिँदै जानुले समुदायमा सकारात्मक सन्देश फैलिएको छ। “एक जनाको सहयोगले अर्को जनालाई पनि प्रेरित गरिरहेको छ,” आयोजकको भनाइ छ।

महिला खेलकुदको प्रवर्द्धन र स्व. मनोज श्रेष्ठको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ। इच्छुक व्यक्ति, संस्था वा व्यवसायीहरूले सहयोगमार्फत महिला खेलाडीहरूको सपना साकार बनाउन हातेमालो गर्न सक्ने आयोजकले आग्रह गरेका छन्।

सहयोगी दाताहरू (हालसम्म)

  • त्रिलोचन अधिकारी, नीलकण्ठ – रु.५०,०००
  • अन्जन श्रेष्ठ, नीलकण्ठ – रु.५०,०००
  • भैरवी इन्टरप्राइजेज, नीलकण्ठ – रु.३०,०००
  • नारायणकुमार श्रेष्ठ, नीलकण्ठ – रु.२५,०००
  • शरण कुमार श्रेष्ठ, नीलकण्ठ – रु.११,११९
  • सुमन रुवाली, मलेखु – रु.१०,०००
  • हिरालाल श्रेष्ठ, नीलकण्ठ – रु.१०,०००
  • त्रिमूर्ति मोबाइल हाउस, नीलकण्ठ – रु.१०,०००
  • न्यू किबो बोर्डिङ नीलकण्ठ – रु.७,०००
  • रोजिना बराम, नलाङ (हाल जापान) – रु.५,०००
  • सन्तोष अधिकारी, नीलकण्ठ – रु.५,०००
  • सुरज धिताल, काठमाडौं – रु.३,०००