धादिङबेसीमा दोस्रो सडक नेवाः खाना उत्सव आज र भोलिदेखि

Avatar photo
Dhadingpost
मंसिर २६, २०८२

धादिङ । झिंगु नेवाः समाज धादिङले धादिङबेसीस्थित बीचबजारदेखि त्रिवेणीचोकसम्मको सडक खण्डमा आज र भोलि दोस्रो सडक नेवाः खाना उत्सव आयोजना गर्ने भएको छ। नेवार समुदायको खान–पान, पहिरन र सांस्कृतिक पहिचानलाई स्थानीय तहमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त उत्सव आयोजना गरिएको समाजले जनाएको छ।

सडकमै खाऔँ, सडकमै रमाऔँ, सडकमै कमाऔँ” भन्ने मूल नारासहित हुने यस उत्सवमा नेवारी परिकारहरूको विशेष प्रदर्शनी र बिक्री–वितरण आयोजना गरिने छ। कार्यक्रममा योमरी, चटामरी, बारा–छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला लगायतका परिकारहरू प्रस्तुत गरिने समाजले जनाएको छ।

नेवारी भाषा, संस्कृति र परम्परालाई समुदाय तहसम्म संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यका साथ झिंगु नेवाः समाजले विगतदेखि नै भाषा प्रशिक्षण, बाजा प्रशिक्षण, परम्परागत पोशाक प्रयोग अभियान तथा सामूहिक चाड–पर्व मनाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सडक नेवाः खाना उत्सव आयोजना गरिएको आयोजकहरूको भनाइ छ।

उत्सवमार्फत नेवारी खानाका परिकारको परिचय, संरक्षण र व्यावसायिक प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढ्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्। तस्वीरः पहिलो संस्करणको हो ।