धादिङका ३९ जना रास्वपामा प्रवेश, डीपी अर्यालद्वारा स्वागत

Avatar photo
Dhadingpost
मंसिर २०, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ–काठमाडौँ सम्पर्क विभागको आयोजनामा काठमाडौंको स्वयम्भूस्थित स्टार बैंक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धादिङ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ३९ जना रास्वपामा प्रवेश गरेका छन्।

रास्वपा धादिङका सचिव मिनबहादुर अधिकारीका अनुसार नवप्रवेशी सदस्यहरूलाई कार्यवाहक सभापति डीपी अर्यालले ब्याच लगाइ स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अर्यालले आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरी भ्रष्टाचार, बेथिति र कुशासनविरुद्धको महाअभियानमा सहभागी हुन अपिल गरेका थिए।

उक्त सम्पर्क तथा पार्टी प्रवेश कार्यक्रम तथा अन्तरक्रियामा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय संगठन विभागका उप–प्रमुख बोध नारायण श्रेष्ठ, केन्द्रीय प्रशिक्षण विभागका सदस्य डा. कृष्णमान शाक्य लगायतका नेताहरूको विशेष आतिथ्यता रहेको थियो।

रास्वपाले धादिङ र काठमाडौंमा संगठन विस्तारलाई तीव्र बनाउँदै नागरिकको भरोसा जित्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।