नेपाली कांग्रेस के गर्दैछ ? के गर्नुपर्ने हो ?

Avatar photo
Dhadingpost
मंसिर ११, २०८२

नेपाली कांग्रेस झन्डै ७९ वर्षको गर्विलो इतिहास बोकेको पार्टी हो। आधा दर्जन पटक (वि.सं. २००७, २०३३, २०३६, २०४२, २०४६ र ६२/६३) राजनीतिक क्रान्तिको नेतृत्व गरेको यसले राजनीतिक, आर्थिक र सामाजिक विकासको नेतृत्व गरेको छ। ३० वर्षे एकदलीय निरंकुश पञ्चायती व्यवस्था, १० वर्षे माओवादी सशस्त्र दन्द्ध, प्रजातान्त्रिक व्यवस्थामा तत्कालीन राजाद्वारा गरिएको “कु” र त्यसबाट जनतालाई मुक्ति दिने कामको अगुवाइ कांग्रेसले नै गरेको हो।

लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, देशको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, लगायत स्वतन्त्र नागरिकको हक अधिकारको लागि कांग्रेस अविचलित रूपमा लड्दै आएको छ। लोकतान्त्रिक मूल्यमान्यतामा कांग्रेस दृढ छ।

तर नेपाली कांग्रेस अहिले आफ्नो आन्तरिक जीवनमा असाध्यै पिडादायी अवस्थामा छ। गत भदौ २३ र २४ गते जेन्जी पुस्ताद्वारा सुशासन कायम, भ्रष्टाचार अन्त्य, राजनीतिक दलको आन्तरिक लोकतन्त्र सुधार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा लगायत माग राखिएको देशव्यापी विद्रोहको भावनालाई वर्तमान नेतृत्वले गम्भीरतापूर्वक लिन नसक्दा पार्टी संकटमा पुगेको हो।

अहिले कांग्रेसभित्र स्पष्ट दुई खेमा देखिन्छन्।

  • एउटा खेमा वर्तमान नेतृत्वसँग छ, जसले आफ्नो नेतृत्व नछोड्ने र पार्टीलाई पनि तिलाञ्जली दिन तयार छ। उनीहरूले केन्द्रीय समितिको बैठक पटक–पटक सारेर आम नागरिक, शुभेच्छुक, बुद्धिजीवी र पार्टी सदस्यको भावना सुन्न र बुझ्न चाहँदैनन्।
  • अर्को खेमा नेतृत्व हस्तान्तरण र पार्टी सुधारको निष्कर्षमा पुगेको छ। भदौ २३–२४ गतेको जेन्जी पुस्ताको आन्दोलनले यसलाई पुष्टि गर्‍यो।

देशको राजनीति हाल तरल छ, राजनीतिक दल र आम नागरिकबीच विश्वासको संकट छ। यसको छिटो निकास दिन कांग्रेसले आम नागरिक र पार्टी सदस्यको विश्वास जित्ने निर्णय लिन आवश्यक छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत, नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, लेखक, उद्योगी र व्यापारीले विश्वास गर्न सक्ने पार्टी निर्माण गर्नुपर्छ।

समयमै वडा देखि केन्द्रसम्म महाधिवेशन गरी नीति निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रविधिमैत्री नागरिक सेवा, युवा स्वरोजगार, निःशुल्क शिक्षा, स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्धमा स्पष्ट कार्यनीति बनाउनु पर्छ।

महाधिवेशनबाट पारित कार्यनीति सफलतापूर्वक कार्यान्वयन गर्न सबै पक्ष समेट्न सक्ने, गुटभन्दा माथि उठ्ने नेतृत्व चयन गर्नुपर्छ। यस्तो नेतृत्वले आगामी निर्वाचनमा आम मतदातासमक्ष स्पष्ट देखाउन सक्नुपर्छ—“यस निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्नुहोस्। हामी योग्य व्यक्तिहरूलाई प्रधानमन्त्री, अर्थ, गृह, परराष्ट्र, रक्षा मन्त्री बनाउनेछौँ।”

अन्यथा, ७९ वर्षको इतिहास बोकेको कांग्रेस इतिहासमै सीमित हुन सक्छ। गत भदौ २३–२४ गतेको ३६ घण्टा सम्झँदै, अविलम्ब पार्टीले निर्णय लिनु अपरिहार्य छ।

लेखक: तिमल्सीना, नेपाली कांग्रेस, धादिङका सह-सचिव हुन् ।