
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताको एजेन्डा पारित गरेको छ।
बैठकमा समितिका संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ ले एकतासम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रस्तुत प्रस्तावलाई बैठकमा उपस्थित सदस्यहरूले ताली बजाएर समर्थन गर्दै पारित गरेका हुन्।
श्रेष्ठका अनुसार, यो एकता कुनै व्यक्तिहरू थुपार्ने प्रयोजनका लागि नभई जेन–जीसहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माण र समाजवादको यात्रामा सहभागी गराउने उद्देश्यले गरिएको हो।
उनले भने,
“हामी नयाँ पुस्तालाई पार्टीको मूलधारमा ल्याउँदै संगठनलाई बलियो बनाउने दिशामा अघि बढिरहेका छौँ। यो एकता माओवादी आन्दोलनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने अभियान हो।”
बैठकमा पार्टी एकता, आगामी महाधिवेशनको तयारी र संगठन सुदृढीकरणसम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ।
