धादिङमा प्याब्सनले कार्तिक २८ गते विद्यालय स्तरीय चेस प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
कार्तिक १८, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) धादिङले विद्यालय स्तरीय चेस प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता कार्तिक २८ गते (नोभेम्बर १४, २०२५) का दिन थाक्रे–२, सिम्ले स्थित महाकाली एकेडेमीमा हुने कार्यक्रम तय गरिएको छ।

जिल्ला अध्यक्ष दिनेश भट्टका अनुसार प्रतियोगिता स्विस लिग प्रणालीमा खेलाइनेछ, जसअन्तर्गत ५ देखि ७ चरणसम्मका खेलहरू सञ्चालन हुनेछन्। टाइ ब्रेकका लागि डाइरेक्ट इन्काउन्टर, बुचहोल्ज कट १, बुचहोल्ज कट २ र जितका सङ्ख्याका आधारमा विजेता घोषणा गरिने जनाइएको छ। हरेक खेलको समय १५ मिनेट र १० सेकेन्ड इन्क्रिमेन्ट हुने व्यवस्था गरिएको छ।

कार्यक्रम कार्तिक २८ गते बिहान ८ बजे उद्घाटन तथा खेलाडी बैठकबाट सुरु हुनेछ। पहिलो राउण्ड बिहान १०:३० बजे, दोस्रो ११:३० बजे, तेस्रो दिउँसो १:३० बजे, चौथो २:३० बजे र पाँचौँ राउण्ड ३:३० बजे सुरु हुनेछ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह साँझ ५ बजे आयोजना गरिने प्याब्सन धादिङका ईसीए इन्चार्ज सञ्जीव गजुरेलले बताए ।

प्याब्सन धादिङको आयोजनामा हुने उक्त प्रतियोगितामा धादिङ जिल्ला चेस संघले प्राविधिक सहयोग प्रदान गर्नेछ।