धादिङका बोध नारायण श्रेष्ठ रास्वपामा प्रवेश

Avatar photo
Dhadingpost
कार्तिक १६, २०८२

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका घर भई लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका बोध नारायण श्रेष्ठ हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै रास्वपाले श्रेष्ठलाई केन्द्रीय संगठन विभागका उपप्रमुखको जिम्मेवारी दिएको छ।

राजनीतिमा प्रवेशबारे बोल्दै श्रेष्ठले भनेका छन्, “विकास र राजनीतिक ज्ञान तथा चेतनाको प्रयोग गर्न, राजनीति खेल होइन तर फोहोरी खेल नबनोस् भन्ने मान्यतामा जोड दिन, योगदान गर्न र समाजिक भ्रष्टाचार न्यूनीकरणमा अभियान चलाउनका लागि राजनीति रोजेको हुँ।”

श्रेष्ठका अनुसार, आफूले राजनीति परिवर्तनको माध्यमका रूपमा लिएको र सकारात्मक सोचका साथ नयाँ पुस्तालाई अघि बढाउने उद्देश्य बोकेर रास्वपामा लागेको बताए।

यसअघि पनि धादिङकै ज्वालामुखी गाउँपालिकाका कृष्णमान शाक्यले नेपाली काँग्रेस छोडी रास्वपामा प्रवेश गरेका थिए उनले केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।

ज्वालामुखीका यी दुई स्थापित व्यक्तित्व — बोध नारायण श्रेष्ठ र कृष्णमान शाक्य —को रास्वपामा प्रवेशले धादिङको राजनीतिक वृत्तमा नयाँ चर्चा ल्याएको छ। सामाजिक क्षेत्रमा सक्रिय र स्वच्छ छवि भएका दुवै नेताको प्रवेशले आगामी चुनावमा कस्तो प्रभाव पार्ने हो, त्यो परिणामले नै देखाउनेछ।

x