
काठमाडौं । देशका आठ वामपन्थी दल तथा समूह मिलेर नयाँ राजनीतिक शक्ति “समाजवादी मोर्चा” गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ पार्टीको चुनाव चिह्न ‘तारा’ रहने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक बन्ने भएका छन्।
प्राप्त जानकारी अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा समाजवादी (प्रेमबहादुर सिंह–राजु कार्की समूह), जनसमाजवादी पार्टी (सुवास काफ्ले नेतृत्व), माओवादी कम्युनिस्ट पार्टी नेपाल (गोपाल किराँती नेतृत्व) र नेकपा विप्लवबाट अलग भएका चिरण सी समूह सहितका आठ दलहरू मङ्गलबार औपचारिक रूपमा एकता घोषणा गर्ने तयारीमा छन्।
नयाँ पार्टीमा वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, सचिवजस्ता पद नहुने र नेतृत्व संरचना संयोजक र सहसंयोजक प्रणालीमा आधारित हुने बताइएको छ। हरेक तह—प्रदेश, जिल्ला र जनसंगठनमा संयोजक र सहसंयोजक फरक दलबाट रहने व्यवस्था गरिएको छ।
एकता प्रक्रियाअनुसार, ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समझदारी भएको छ। साथै, जनसंगठन र विभागहरूमा पनि इन्चार्ज र सहइन्चार्ज फरक दलबाट हुनेछन्।
नयाँ पार्टीको विधान, राजनीतिक दस्तावेज र घोषणापत्र तयार गर्ने जिम्मा माओवादीबाट देव गुरुङ, वर्षमान पुन र रेखा शर्मा, तथा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई दिइएको छ।
ज्वालाका अनुसार, एकता प्रक्रियाका सबै काम अन्तिम चरणमा पुगेका छन् र घोषणा सभापछि पार्टी दर्ता गरेर आगामी २१ फागुनको निर्वाचनका लागि तयारी सुरु गर्ने योजना छ।
