
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नयाँ चरण आजदेखि युएईमा सुरू हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपाल र अमेरिका आज बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन्।
नेपाली टोलीको कप्तानी रोहित पौडेलले गरिरहेका छन्। विकेटकिपर तथा ब्याट्सम्यान अनिलकुमार साह र बलर शाहब आलम टोलीमा पुनः फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि घोषणा गरेको टोलिमा यी दुई खेलाडीको पुनरागमन उल्लेखनीय रहेको छ।
नेपालले यस त्रिदेशीय सिरिजमा अमेरिका र युएईसँग समान दुई–दुई खेल खेलनेछ। यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जित्दै नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ। त्यसपछि नेपाली टोली ओमानबाटै युएई पुगेको हो।
कार्यतालिका अनुसार नेपालले
- अक्टोबर ३० (बिहीवार) मा घरेलु टोली युएईसँग,
- नोभेम्बर १ (शनिबार) मा अमेरिकासँग दोस्रो खेल, र
- नोभेम्बर ५ (कात्तिक १९) मा अन्तिम खेल युएईसँग खेल्नेछ।
हालसम्म लिग–२ मा नेपालले १६ खेलमा १२ अंक जोड्दै सातौँ स्थानमा रहेको छ।
अमेरिका २० खेलमा २८ अंकसहित दोस्रो स्थानमा छ भने युएई ६ अंकसहित आठौँ स्थानमा छ।
