
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ मा सम्पन्न खुल्ला पुरुष वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिर्जनशील युवा क्लब रातमाटेले जित्न सफल भएको छ। रोमाञ्चक फाइनल खेलमा रातमाटेले निबुवाबोटे युवा क्लबलाई हराउँदै विजेता बनेको हो।
प्रतियोगितामा निबुवाबोटे युवा क्लबले दोस्रो स्थान हासिल गर्दा जेन्जी युवा क्लबले सान्त्वना (तेस्रो) भयाे ।
विजेता टोलीलाई खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीय हुने टोलीलाई सानो बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षले खेलकुदले युवाहरूलाई एकता, अनुशासन र नेतृत्व सीप सिकाउने माध्यम भएको बताउँदै यस्ता प्रतियोगिताले गाउँमा स्वास्थ्य र सामाजिक सद्भाव दुवै बढाउने उल्लेख गरे।
प्रतियोगितामा खनियाबास, गंगाजमुना र नेत्रावती गाउँपालिकाका साथै धादिङका विभिन्न स्थानबाट आएका टिमहरू — PYC पोखरा, जेन्जी, निभुवाबोटे, नेत्रावती, CYC, आयोजक ‘A’, KFC खहरे र सल्याकाेट अायाेजक ‘B’ सहभागी रहेका थिए। फाेटाे: सुजन सापकाेटा












