
धादिङ । जिल्लाकै उत्कृष्ट विद्यालय एडभान्स एकेडेमीले शैक्षिक सत्र २०८२ अन्तर्गत आयोजित १९औँ एडभान्स स्पोर्ट फेस्टिवलको शुक्रबार भव्य उद्घाटन गरेको छ। विद्यालय परिसरमा सम्पन्न विशेष समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले गर्नुभयो भने सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल नवीन थपलियाले गर्नुभएको थियो। सो अवसरमा उद्घाटन समारोहको सभापतित्व संस्थापक प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो।
विद्यालयका खेल संयोजक कृष्ण गुरुङका अनुसार, यस वर्षको स्पोर्ट फेस्टिवलमा ७२ भन्दा बढी खेलकुद प्रतियोगिता हुनेछन् र करिब ८७२ पदकका लागि विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।
मुख्य अतिथि अर्जुनकुमार श्रेष्ठ गोर्खालीले विद्यालयले खेलकुद र शैक्षिक दुवै क्षेत्रमा समान महत्व दिँदै विद्यार्थीको सर्वांगीण विकासमा योगदान पुर्याइरहेको बताउनुभयो।
उहाँले “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई आत्मसात् गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुन सक्ने क्षमता विकास गराइरहेको उल्लेख गर्नुभयो।
यस वर्षको फेस्टिवलमा विद्यार्थी खेलसँगै अभिभावकहरूका लागि विशेष Parents Game समेत आयोजना गरिएको छ, जसले विद्यार्थी–अभिभावक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
भाइस प्रिन्सिपल तथा ईसीए कोअर्डिनेटर सुनिताका अनुसार, १९औँ एडभान्स स्पोर्ट फेस्टिवल असोज ३० गतेसम्म सञ्चालन हुनेछ।














