आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता पुनः सुरु

Avatar photo
Dhadingpost
अशोज ९, २०८२

काठमाडौं । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पुनः सुरु भएको छ । निर्वाचन आयोगको निर्णयअनुसार आगामी २०८२ साल कार्तिक ३० गतेसम्म दर्ता अभियान सञ्चालन गरिने भएको हो ।

आयोगले दिएको जानकारीअनुसार १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकहरूले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न सक्नेछन् । साथै आयोगको वेबसाइट www.election.gov.np वा प्रि-रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) प्रयोग गरी पनि आवेदन दिन सकिनेछ ।

यस क्रममा नागरिकले आवश्यक कागजात सहित आफ्नो नाम दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । विशेष कारणले विवाह भई अन्यत्र गएका, वडाभित्र बसाइँसराइ गरेका वा अन्य विवरणमा परिवर्तन भएका व्यक्तिहरूले समेत आफ्नो विवरण सच्याएर नाम दर्ता गराउनुपर्नेछ ।

आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई मतदाता नामावलीमा दर्ता भई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न हार्दिक अनुरोध गरेको छ ।