
धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका प्रख्यात साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गरेको छ ।
गत असोज ६ गते काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहमा कुलपतिको हातबाट डा. पहाडीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
२०२७ साल माघ १ गते धादिङको सुनौलाबजार–१ नेवारपानीमा लीलानाथ दाहाल र डिलकुमारी दाहालका पुत्रका रूपमा जन्मेका डा. पहाडी हाल नीलकण्ठ नगरपालिका–३ बीचबजारमा बसोबास गर्दै आएका छन् । उनले भैरवी माध्यमिक विद्यालयबाट एसएलसीपछि त्रिभुवन विश्वविद्यालयमा प्रविणता प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् भने संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि हासिल गरेका छन् ।
शिक्षण क्षेत्रमा दुई दशकभन्दा बढी समय समर्पण गरेका डा. पहाडी नीलकण्ठ माध्यमिक विद्यालय र नीलकण्ठ बहुमुखी क्याम्पसमा शिक्षकका रूपमा कार्यरत रहँदै आएका छन् । उनी सुनौला चोवा (हाल सुनौला भैरवी) माध्यमिक विद्यालय स्थापना, महेन्द्र प्राथमिक विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति, धादिङका ३० विद्यालयमा अर्धस्वयम्सेवक शिक्षक उपलब्ध गराउने, असहाय नानीहरूको साथी संस्थामार्फत १७५ भन्दा बढी बालबालिकालाई छात्रवृत्ति दिलाउने, आमाको माया छात्रावासमार्फत विपन्न बालबालिकाको पालनपोषण गर्ने जस्ता सामाजिक कार्यमा समेत अगाडि रहेका छन् ।
साहित्य क्षेत्रमा पनि सक्रिय डा. पहाडीका प्रकाशित कृतिहरूमा पहाडीका कविताहरू, प्रकृतिका पुजारी भूमि, हजुरआमा जाती, कृष्णा, आमाको आँगन (महाकाव्य) उल्लेखनीय छन् । साथै उनले स्नातक तहका ‘साधारण नेपाली’, ‘अनिवार्य नेपाली’ जस्ता पाठ्यपुस्तक सह–लेखन गरेका छन् भने ‘शुभारम्भ नेपाली’ (नर्सरी–कक्षा ८) र ‘शुभारम्भ हाम्रो सेरोफेरो’ (कक्षा १–३) जस्ता पाठ्यपुस्तक पनि लेखेका छन् ।
उनले प्राप्त गरेका पुरस्कार तथा सम्मानमध्ये Integrity Icon Nepal (२०२०), बाह्रखरी कथा सम्मान (२०७९), सशस्त्र प्रहरी प्रधान कार्यालयको उत्कृष्ट कवि सम्मान (२०८०), नेपाल विद्या भूषण पदक (२०८०) लगायत एक दर्जनभन्दा बढी संघ–संस्थाबाट प्राप्त सम्मान प्रमुख रहेका छन् ।
हाल उनी नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।









