बेनीघाट रोराङमा ३४० शिक्षक, ४७ विद्यार्थी र ५४ विद्यालय सम्मानित

Avatar photo
Dhadingpost
अशोज ४, २०८२

धादिङ । संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा बेनीघाट रोराङ गाउँपालिकाले शुक्रबार भव्य शैक्षिक सम्मान समारोह सम्पन्न गरेको छ । पालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ को अध्यक्षतामा आयोजित कार्यक्रममा ३४० जना शिक्षक, ४७ जना विद्यार्थी र ५४ विद्यालयलाई सम्मान गरिएको हो ।

चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारको माथिल्लो प्राङ्गणमा बिहान ११ बजेदेखि साँझसम्म चलेको कार्यक्रममा कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विषयगत शिक्षक तथा विद्यालयलाई ‘बेनीघाट रोराङ शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो । साथै, यसै वर्ष स्थापना गरिएको ‘सहिद इन्द्रबहादुर थपलिया रोराङ शिक्षा पुरस्कार’ बाट ९ जना उत्कृष्ट शिक्षकलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा शिक्षा अधिकृत बोधराज पाठक, जिन्सी शाखा प्रमुख सुमन अधिकारी तथा प्रशासन शाखा प्रमुख परशुराम घिमिरेलाई समेत सम्मनान गरेको थियो ।

विद्यालयहरूको संस्थागत स्वः तथा बाह्य मूल्याङ्कनका आधारमा तहगत रूपमा उत्कृष्ट ठहरिएका ९ विद्यालय पनि सम्मानित भए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा रोचक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्षहरू, शिक्षा समिति सदस्य, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी, पूर्व गापा अध्यक्ष पित्तबहादुर डल्लाकोटी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, पालिका कर्मचारी, आमा समूह, सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि, पत्रकार तथा स्थानीय जनसमुदायको उल्लासपूर्ण उपस्थिति थियो ।

पालिका अध्यक्ष थपलियाले दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । दिनभरसम्म चलेको कार्यक्रममा विभिन्न विधा र तहका शिक्षक, विद्यार्थी र विद्यालयलाई निरन्तर सम्मान गरिँदा वातावरण उत्साहपूर्ण बनेको थियो । यो सम्मानलाई बेनीघाट रोराङका शिक्षा अधिकृत बोधराज पाठकले अभूतपूर्व शैक्षिक सम्मान भएको बताएका छन् ।

गाउँपालिकाले कार्यक्रममा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ । तस्बिर: चन्द्र तामाङ

x