माओवादी केन्द्र धादिङले सबै पालिकामा संविधान दिवस मनाउने

Avatar photo
Dhadingpost
अशोज २, २०८२

धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लाका सबै पालिकामा आगामी असोज ३ गते ११औं संविधान दिवस मनाउने भएको छ । यसका लागि पालिका कमिटीहरूलाई सर्कुलर जारी गरिएको जिल्ला नेतृत्वले जनाएको छ ।

निर्देशनअनुसार प्रत्येक पालिकामा द्वीप प्रज्वलन, अन्तरक्रिया कार्यक्रमलगायतका गतिविधि गरी संविधान दिवसलाई उत्साहपूर्वक मनाउने तयारी भइरहेको छ ।

संविधान दिवस मनाउनुपर्ने कारणबारे माओवादी केन्द्रका नेता तथा इञ्चार्ज पुष्प विक्रम मल्लले नेपालको संविधान जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक दस्तावेज भएकाले यसलाई सम्मान गर्नु सबै नागरिकको दायित्व भएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र समानतामूलक अधिकार सुनिश्चित भएको संविधानलाई बचाउन र कार्यान्वयन गर्न जनस्तरमा जनचेतना फैलाउने उद्देश्यले दिवसलाई स्थानीय स्तरमै मनाउन लागिएको बताए ।

संविधान दिवस असोज ३ गते मनाइन्छ, किनकि २०७२ साल असोज ३ गतेकै दिन ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ जारी भएको हो । यस संविधानले २०६३ साल पुस १ गते तत्कालीन नेकपा (माओवादी) सहित आठ पार्टीबीच भएको सम्झौता र त्यसअनुरूप २०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको हो ।

माओवादी केन्द्र धादिङले संविधान दिवसलाई जनताको अधिकार र मुलुकको स्थायित्वसँग जोडिएको महत्त्वपूर्ण दिनका रूपमा व्याख्या गर्दै यसपटक सबै पालिकामा भव्य कार्यक्रममार्फत मनाउने तयारी गरेको जनाएको छ । तस्वीरः फाईल