
धादिङ । आज भाद्र ३१ गते विश्वकर्मा पूजा विविध कार्यक्रमका साथ देशभर मनाइँदैछ। प्राचीनकालदेखि नै ‘श्रमको देवता’ मानिने विश्वकर्मालाई पूजा–अर्चना गरी उद्योग, व्यवसाय, यातायात, निर्माण, कलाकौशल र प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरूले आफ्नो काम–धन्धा, उपकरण र साधनसामग्रीमा पूजा गर्ने प्रचलन रहेको छ।
विश्वकर्मा पूजाको सुरुवात वैदिक युगदेखि भएको मानिन्छ। वेदमा विश्वकर्मालाई सृष्टिकर्ता, निर्माणकला र अभियांत्रिकीका आदि गुरुका रूपमा वर्णन गरिएको छ। प्राचीन कथनअनुसार भगवान विश्वकर्माले नै द्वारिका, हस्तिनापुर, इन्द्रपुरी जस्ता प्रसिद्ध नगरी निर्माण गरेका थिए। त्यसै समयदेखि आजसम्म उनी निर्माण, कला, प्रविधि र उत्पादनसँग आबद्ध जनशक्ति र साधनप्रति श्रद्धा अर्पण गर्ने देवता मानिँदै आएका छन्।
नेपालमा विश्वकर्मा पूजाको विशेष महत्व छ। यस दिन मजदुर, प्राविधिक, व्यवसायी, उद्योगी, कारिगरदेखि गाडी चालकसम्मले आफ्ना कार्यस्थल र उपकरणको पूजा गर्छन्। विशेषगरी कारखाना, वर्कसप, भवन निर्माण स्थल र यातायात क्षेत्रमा विहानैदेखि पूजा गर्ने, साधनसामग्रीलाई रातो कपडाले बेर्ने र प्रसाद चढाउने परम्परा छ।
यस दिनलाई श्रम र उत्पादनको सम्मान गर्ने दिवसका रूपमा पनि व्याख्या गरिन्छ। विश्वकर्मा पूजाले श्रमिक वर्गलाई हौसला र प्रेरणा दिने विश्वास गरिन्छ।
