
धादिङ । माओवादी केन्द्र धादिङ प्रतिनिधि सभा–१ को प्रदेश (क) स्तरीय बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख आतिथ्यमा उपस्थित थिए ।
बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले जेन्जी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई चुनाव सम्पन्न गराउन माओवादी केन्द्रले पूर्ण सहयोग गर्ने बताए । उनले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न कार्यकर्ताहरूलाई चुनावमुखी भएर जनतासम्म जान आग्रह गरे ।

उनले पछिल्लो आन्दोलनलाई एमाले र कांग्रेसको “भ्रष्टचारी संरक्षण अभियानको उपज” भन्दै आलोचना गरे । जेन्जी आन्दोलनका मागलाई सकारात्मक भन्दै उनले माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको स्मरण गराए । तर आन्दोलनमा घुसपैठ हुनु र भौतिक संरचना ध्वस्त हुनु दुखद पक्ष भएको उल्लेख गर्दै उनले अब पार्टी चुनाव केन्द्रित बन्नुको विकल्प नरहेको बताए ।
