राष्ट्रिय बाल दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

Avatar photo
Dhadingpost
भदौ २९, २०८२

काठमाडौं । आज भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइँदैछ । बालबालिकाका अधिकार सुनिश्चित गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, खेलकुद, संरक्षण र सहभागितामा समाजको ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवस प्रत्येक वर्ष मनाइन्छ ।

नेपालमा राष्ट्रिय बाल दिवस मनाउने परम्परा विसं २०१६ सालको भाद्र ४ गतेदेखि सुरु गरिएको हो । सो दिन तत्कालीन माहरानी रत्नराज्यलक्ष्मीदेवी शाहको जन्मदिनका अवसरमा पहिलो पटक बाल दिवस मनाइएको थियो । गणतन्त्र स्थापनापश्चात् २०६३ सालमा आएर भदौ २९ गते सन् १९९० सेप्टेम्बर १४ (वि.सं. २०४७ भदौ २९) मा नेपालले संयुक्त राष्ट्र बाल अधिकार महासन्धि (Convention on the Rights of the Child – CRC) अनुमोदन गरेको दिनलाई स्मरण गर्दै, भदौ २९ गतेलाई नै राष्ट्रिय बाल दिवसको रूपमा मनाउने परम्परा सुरु गरिएको हो ।

यस दिवसलाई बालबालिकाप्रतिको राज्यको प्रतिबद्धता, बालश्रम उन्मूलन, हिंसा तथा दुव्र्यवहार अन्त्य र बालमैत्री समाज निर्माणतर्फको अभियानका रूपमा लिइन्छ । यस अवसरमा आज विभिन्न संघ–संस्था, विद्यालय, बाल क्लब र सरकारी निकायहरूले विशेष कार्यक्रम सञ्चालन गर्दै छन् । फाईल तस्वीर