स्कुल सञ्चालन गर्न निषेधाज्ञाले रोक्दैन : प्रमुख जिल्ला अधिकारी सुवेदी

Avatar photo
Dhadingpost
भदौ २७, २०८२

धादिङ । जेन-जी युवाहरूले भदौ २३ गतेदेखि सुरु गरेको आन्दोलनपछिको असुरक्षित परिस्थितिका कारण बन्द रहेका विद्यालय संचालनमा ल्याउन निषेधाज्ञाले रोक नलगाउने धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले बताएका छन् ।

“असुरक्षाको महसुस भयो भने हामी सुरक्षा दिन तयार छौं । अभिभावक र विद्यालयहरू तयार भए पठनपाठन सञ्चालन गर्न निषेधाज्ञाले रोक्दैन,” सुवेदीले धादिङपोष्टसँगको कुराकानीमा बताए।

उनका अनुसार पछिल्ला दिनमा लुटपाट र तोडफोडको घटना बढेकाले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको हो । आदेशअनुसार भेला, जुलुस, प्रदर्शन, सभा र बैठक गर्न रोक लगाइएको उनले स्पष्ट पारे।

हाल जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशका कारण विद्यालयहरू सञ्चालनमा अनिश्चितता भएकोमा अभिभावक र विद्यार्थीहरू चिन्तित बनेका छन् । तर प्रजिअ सुवेदीको भनाइपछि विद्यालय सञ्चालनका लागि मार्ग खुल्ने आशा गरिएको छ ।