
धादिङ । काठमाडौंमा सोमबार जेन–जी आन्दोलनका क्रममा सरकारले अन्धाधुन्ध गोली प्रहार गर्दा १९ जनाको मृत्यु र ४२६ जना घाइते भएपछि यसको विरोधस्वरूप धादिङमा पनि शान्तिपूर्ण प्रदर्शन हुने भएको छ । घाइतेमध्ये ४२ जनाको अवस्था गम्भीर रहेको र उनीहरू आइसियूमा उपचाररत रहेको जनाइएको छ ।
भ्रष्टाचार, ‘बेबी नेपो’ र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी आन्दोलनलाई समर्थन र सरकारले गरेको नरसंहारविरुद्ध आज बिहान १० बजे धादिङमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने जनाइएको छ । यो जानकारी राम तामाङले दिएका हुन् ।
उनका अनुसार जेन–जीले भ्रष्टाचार, कुशासन, नेतातन्त्र र जनजीवनबीचको असमानतामाथि प्रश्न उठाएको हो । “के यी प्रश्न गलत थिए ? नेताका परिवारको शाही ठाँट र आम नागरिकका छोराछोरीको दयनीय जीवनस्तरमाथि प्रश्न उठाउनु के अनुचित हो ?” तामाङले प्रश्न गर्दै भने, “देशले स्वीकार गरिसकेको प्रश्नको जवाफ सरकारले गोली प्रहार गरेर दियो । अब हामी चुप बस्दैनौं, थप नरसंहार हुन दिँदैनौं ।”
उनले ०४६ सालदेखि अहिलेसम्मको ३६ वर्षको कुशासन, भ्रष्टाचार, नागरिकमाथिको अत्याचार र नेतातन्त्रको हिसाब माग्नु जेन–जीको मुख्य माग भएको स्पष्ट पारे । “हिसाब मागे भन्दैमा स्कुले केटाकेटीलाई गोली हान्नु अमानवीय कृत्य हो । यसविरुद्ध आउनुहोस्, हाम्रो आवाज हामी स्वयं उठाऔं,” तामाङले आह्वान गरे ।
