चेपाङ समुदायले आज छोनाम (न्वाङ्गी) पर्व मनाउँदै

Avatar photo
Dhadingpost
भदौ २२, २०८२

धादिङ । अति सिमान्तकृत आदिवासी चेपाङ समुदायले आज (भदौ २२ गते) आफ्नो प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छोनाम (न्वाङ्गी) परम्परागत ढंगले मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पूर्णिमामा मनाइने यो पर्वलाई चेपाङ जातिले नयाँ अन्न भित्र्याउने र देव–पितृलाई पूजा गर्ने दिनका रुपमा लिन्छन् ।

नौ महिनासम्म जंगली कन्दमुल खाएर जीवन धानेका चेपाङले यस दिन नयाँ धान, मकै, कोदो आदिको अन्न खाएर मुख फेर्ने परम्परा रहेको छ । रातभर ढ्याङग्रो बजाउँदै देव–पितृलाई बोलाइन्छ भने चेपाङ झाँक्रीले उपस्थितलाई नयाँ अन्नको टिका लगाइदिन्छन् । त्यसपछि घरघरमा नयाँ अन्न र फलफूल बाँडेर खाने चलन छ ।

विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक उत्सवको रुपमा मनाउने परम्परा सुरु भएको हो ।

चेपाङ जातिका लागि न्वाङ्गी पर्व अन्य समुदायका दशैं र तिहारजस्तै महत्त्वपूर्ण मानिन्छ । आर्थिक अभावका कारण धेरैजसो परिवारले छिमेकीसँग अन्न पैचो लिएर पनि यो पर्व मनाउने गरेका छन् ।

धादिङ नाम पनि चेपाङ (प्रजा) भाषासँग सम्बन्धित रहेको विश्वास छ । ‘धा’ को अर्थ आगोको ज्वाला र ‘दिङ’ को अर्थ देवी–देउता हुन्छ भन्ने कथन छ । प्रकृति धर्ममा आस्था राख्ने चेपाङको जीवन जंगल र वनपैदावरसँग गहिरो रूपमा गाँसिएको छ ।

न्वाङ्गी पर्व सम्पन्न भएपछि मात्र चेपाङ समुदायले नयाँ अन्न खाने चलन शुरु हुन्छ । तर, गरिबी र विपन्नताका कारण चेपाङ जनसंख्याको करिब १० प्रतिशत मात्र नियमित दुई छाक अन्न खान सक्षम हुने गरेका छन् भने बाँकी समुदायलाई केही समयपछि पुनः कन्दमुलमै भर पर्नुपर्ने बाध्यता रहन्छ ।