
धादिङ । हरेक प्रकारको मानव बेचबिखन, विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस–२०२५ धादिङमा पनि विविध कार्यक्रममार्फत मनाउने तयारी भएको छ ।
यस वर्षको दिवसको नारा – “तीनै तहका सरकार मिली गरौँ हातेमालो : मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो” -ले संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्यको अपरिहार्यता औँल्याएको छ ।
कार्यक्रम र पहल
त्रिपुरासुन्दरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, विभिन्न गैरसरकारी संस्थाहरू र विद्यालयहरूले सचेतना र्याली, छलफल, नारा लेखन प्रतियोगिता र समुदायस्तरीय सभा आयोजना गर्ने तयारी गरेका छन् । यी कार्यक्रममार्फत मानव बेचबिखनविरुद्धको अभियानलाई गाउँगाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।
नेपालले मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीय अधिकारकर्मीहरूको गुनासो छ । कानुन कडा भए पनि प्रमाण संकलनमा कमजोरी, पीडित संरक्षण र पुनःस्थापनामा कमी भएकै कारण समस्या न्यूनिकरणमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।
धादिङ अझै ‘स्रोत जिल्ला’
धादिङ अझै पनि मानव बेचबिखनको ‘स्रोत जिल्ला’का रूपमा सूचीकृत छ । गरिबी, रोजगारीको अभाव, अशिक्षा र वैदेशिक रोजगारीको प्रलोभनका कारण यहाँका किशोरीहरू बढी जोखिममा परिरहेका छन् । पछिल्ला वर्षहरूमा धादिङबाट उद्धार भएका पीडितहरूको तथ्यांकले यो समस्या गम्भीर रहेको देखाएको छ।
आजको दिवसले मानव बेचबिखनविरुद्धको संघर्षलाई पुनः स्मरण गराउँछ । विज्ञहरूका अनुसार संयुक्त प्रयास, तीनै तहका सरकारको हातेमालो र समुदायस्तरको सचेतना अभावमा महिला तथा बालबालिकामाथि हुने बेचबिखन रोकथाम सम्भव हुँदैन । दिवसकै सन्देशअनुसार हातेमालो गरेर मात्र दुष्चक्र अन्त्य गरी सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज निर्माण गर्न सकिन्छ ।
