
धादिङ । एडभान्स एकेडेमीमा सोमबारदेखि सुरु भएको ‘टेक्वान्दो ग्रेडिङ’ कार्यक्रम सुरु भएकाे छ । पहिलो दिन कक्षा पाँच र कक्षा छमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने यस टाइगन टु ग्रेडिङमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी सहभागी हुनेछन्। समापन भदौ १८ गते हुने विद्यालयले जनाएको छ ।

विद्यालयले २०७२ सालदेखि नै कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई अनिवार्य रूपमा टेक्वान्दो सिकाउँदै आएको छ । खेलकुद र शैक्षिक गतिविधिलाई समान महत्त्व दिँदै आएको एकेडेमीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्ष्य बनाएको छ । टेक्वान्दो अभ्यासले विद्यार्थीलाई अनुशासित, आत्मविश्वासी र शारीरिक रूपमा सबल बनाउनुका साथै आत्मरक्षा, धैर्य, सहनशीलता र ध्यान केन्द्रित गर्ने क्षमता समेत अभिवृद्धि गरेको छ ।

विद्यालयका प्रिन्सिपल भीम बहादुर श्रेष्ठका अनुसार टेक्वान्दो ग्रेडिङ कार्यक्रम विद्यार्थीको प्रतिभा पहिचान गर्दै उनीहरूको क्षमतामा स्तरवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । उनले भने, “खेलकुदले विद्यार्थीलाई केवल शारीरिक रूपमा मात्र सबल बनाउँदैन, यसले नैतिक शिक्षा, सहकार्य भावना र जीवनमा संघर्ष गर्ने क्षमतासमेत प्रदान गर्छ ।”

विश्वव्यापी रूपमा लोकप्रिय भइसकेको टेक्वान्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाउने खेलका रूपमा स्थापित छ । विद्यालयस्तरमै यसलाई प्रोत्साहन गर्नु विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
