
धादिङबेसी । प्रस्तावित शिक्षा ऐन विभेदकारी रहेको भन्दै निजी तथा आवासीय विद्यालयहरूले देशव्यापी आन्दोलन चर्काइरहेका छन् । सोही क्रममा आज धादिङबेसीमा स्कुल बस र्याली निकालिएको छ ।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा आयोजित प्रदर्शनमा धादिङका निजी तथा आवासीय विद्यालयहरूले सहभागिता जनाएका हुन् । र्यालीमा ३० भन्दा बढी स्कुल बस प्रयोग गरिएको आयोजकले जानकारी दिएका छन् ।
संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने तयारी भइरहेको भन्दै विद्यालयहरूले आपत्ति जनाएका छन् । “शिक्षा ऐनमा ल्याइएका प्रावधानले निजी विद्यालयहरूलाई अन्यायपूर्ण ढंगले निषेध गर्न खोजिएको छ,” प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले बताए ।
निजी विद्यालयहरूको आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले समेत ऐक्यबद्धता जनाएका छन् ।
विद्यालयहरूले उठाएका प्रमुख मागमा ‘पूर्ण छात्रवृत्ति’ भन्ने प्रावधान हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा) उपलब्ध गराउनुपर्ने अनिवार्य व्यवस्था खारेज गर्नुपर्ने, कम्पनी ऐनअन्तर्गत दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान हटाउनुपर्ने लगायतका विषय छन् ।
