
धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक आइतबार धादिङको बेनीघाट रोराङ–७, थाराआपमा अनावरण गरिएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज पाण्डेले एक विशेष समारोहका बीच शालिक अनावरण गरेका हुन् ।
जनयुद्धको क्रममा गहिरो रूपमा प्रभावित थाराआपस्थित थपलिया परिवारका तीन सदस्यले सहादत प्राप्त गरेका थिए । हाल सोही परिवारका कृष्णबहादुर थपलिया ‘विवेक’ बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष रहेका छन् ।
शालिक अनावरण कार्यक्रममा माओवादी केन्द्र धादिङका नेताहरु पुष्पविक्रम मल्ल, दलबहादुर बुर्लाकोटी, दिपक लामिछाने सुवोध, पालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ लगायतको उपस्थिति रहेको थियो।

सहिद चट्टानको संक्षिप्त जानकारी
नाम : इन्द्रबहादुर थपलिया (चट्टान)
जन्म मिति : २०११ साल भदौ १ गते
सहादत मिति : २०५९ साल भदौ १५ गते
ठेगाना : बेनीघाट रोराङ–७, थाराआप, धादिङ,
बुबाको नाम : दिलनाथ थपलिया
आमाको नाम : मनमाया थपलिया
घटना विवरण :
इन्द्रबहादुर थपलिया बाल्यकालदेखि नै न्याय र समानताको पक्षमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो । जनयुद्धमा लागेपछि उहाँलाई ‘कमरेड चट्टान’ भनेर चिनिन थालियो ।
२०४८ सालमा पार्टी सदस्य बनेका उहाँ २०५२ सालमा भूमिगत हुनुभयो । जेठो छोरा रामहरि थपलियाले जनयुद्धकै क्रममा सहादत पाएपछि उहाँ अझ सक्रिय हुँदै भूमिगत राजनीतिमा होमिनुभयो ।
पार्टीको इलाका कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र अखिल नेपाल किसान सङ्घ जिल्ला अध्यक्ष जस्ता जिम्मेवारी सम्हाल्दै २०५४ सालमा माओवादीको पूर्णकालीन सदस्य बन्नुभएको थियो ।
जिल्ला कमिटीको बैठकमा सहभागी हुन जाँदा, भुमेस्थानस्थित एक घरमा सुराकीका आधारमा तात्कालीन सेनाले घेरा हाल्यो र भदौ १५ गते भुमेस्थान पुल नजिकै ज्यामिरेमा लगेर गोली हानी उहाँको हत्या भएको थियो ।

