मुख्यमन्त्री बानियाँको कडाइ : हेल्मेट बिना इन्धन नदिने

Avatar photo
Dhadingpost
भदौ १२, २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुईपांग्रे सवारी चालकले अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले पेट्रोल पम्पबाट इन्धन लिने क्रममा समेत हेल्मेटलाई अनिवार्य गर्ने निर्णयलाई लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उनले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले मादक पदार्थ सेवन गरेको–नगरेको परीक्षण नियमित गर्नुपर्नेमा जोड दिए । साथै, हेल्मेट नलगाई इन्धन लिन आउने व्यक्तिलाई पेट्रोल पम्पले सेवा नदिनुपर्ने स्पष्ट निर्देशनसमेत दिएका छन् ।

मुख्यमन्त्री बानियाँले इन्धन वितरण केन्द्रमा हेल्मेट अनिवार्यतासम्बन्धी सचेतनामूलक सूचना बोर्ड राख्न सकिने व्यवस्था मिलाउन पनि सम्बद्ध निकायलाई सुझाव दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव भूपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, प्रहरी नायब महानिरीक्षक अरुण पौडेललगायत सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो । तस्बिर : मुख्यमन्त्रीको सचिवालय, हेटौंडा