
धादिङ । धादिङको बेनीघाट रोराङ–७ चापटारका गोकर्णराज सुयल कालीकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् ।
सुयलले लामो प्रशासनिक अनुभवसहित विभिन्न सरकारी निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनले २०६९ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय, बझाङमा सेवा प्रारम्भ गरेका थिए र २०७२ सालमा मुस्ताङस्थित त्यही कार्यालयमा कार्यरत रहे ।
२०७४ सालमा जिल्ला विकास समिति तथा जिल्ला समन्वय समिति धादिङमा लेखा अधिकृतको जिम्मेवारी सम्हालेका सुयल २०७५ सालमा धुनीबेशी नगरपालिकामा लेखा अधिकृत बने । २०७६–७७ मा रौतहटको चन्द्रनिगाहपुरस्थित डिभिजन सडक कार्यालयमा लेखा अधिकृतको रूपमा सेवा दिँदै उनले अनुभव थपे ।
२०७८ साल मंसिरसम्म उनले महालेखा नियन्त्रक कार्यालय, काठमाडौंमा लेखा अधिकृतको रूपमा योगदान दिएका थिए । त्यसपछि २०७८–७९ मा लमजुङको राइनास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्य गरे ।
२०७९–८१ सम्म जिल्ला प्रशासन कार्यालय, लमजुङमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका उनले २०८१–८२ मा सिराहा जिल्लाको इलाका प्रशासन कार्यालय लहानमा कार्यालय प्रमुख उपसचिवको रूपमा कार्य गरेका थिए ।
हालै कालीकोटमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सुयललाई स्थानीय निकाय तथा कर्मचारीहरूले हार्दिक स्वागत गरेका छन् ।



