बेनीघाट रोराङले फेरि कायम गर्‍यो उत्कृष्टताको रेकर्ड

Avatar photo
Dhadingpost
भदौ ७, २०८२

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले निरन्तरता दिँदै फेरि पनि स्थानीय तह संस्थागत क्षमता स्वः मूल्याङ्कन LISA मा देशकै उत्कृष्ट गाउँपालिकाको उपाधि हात पारेको छ । गत वर्ष ९९.७५ अंक ल्याई प्रथम भएको बेनीघाट रोराङ यस वर्ष पनि ९१.७५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशकै प्रथम र समग्र नगरपालिका र गाउँपालिकामा तृतीय हुन सफल भएको हो ।

सुशासन, पारदर्शिता, शिक्षा–स्वास्थ्य, पूर्वाधार विकास, कृषि तथा रोजगारी सिर्जनाजस्ता क्षेत्रमा देखिएको उपलब्धिले यसलाई अग्रस्थानमा पुर्‍याएको हो । यसै कारण बेनीघाट रोराङ गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै लगातार उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित भएको हो ।

गाउँपालिकाले हरेक योजनालाई वडास्तरमै छलफल गरेर नागरिकसँग प्रत्यक्ष संलग्नता कायम गर्ने अभ्यास गर्दै आएको छ । बजेट व्यवस्थापनदेखि कार्यक्रम कार्यान्वयनसम्म पारदर्शिता र जवाफदेहितामा जोड दिइँदै आएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले बताए ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालयमा गुणस्तरीय शिक्षाको पहल, छात्रवृत्ति तथा सीपमूलक तालिम, स्वास्थ्य चौकी सुदृढीकरण र स्थानीय स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि अभियान प्रभावकारी रहेको प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले बताइन् । उनका अनुसार सडक, खानेपानी, पुल–पुलेसा र कृषि सिंचाइ जस्ता आधारभूत पूर्वाधार विस्तारले गाउँवासीको जीवनस्तरमा ठूला परिवर्तन ल्याएको छ ।

स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने, सहकारीलाई मजबुत बनाउने, युवा तथा महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । त्यस्तै, हरियाली अभियान, सामुदायिक वन संरक्षण, फोहोर व्यवस्थापन र जलवायु अनुकूलनजस्ता वातावरणमैत्री गतिविधिमा समेत गाउँपालिकाले विशेष ध्यान दिएको छ ।

योजनाको पहिचानदेखि कार्यान्वयनसम्म नागरिकको सक्रिय सहभागिता र दिगोपनामा जोड दिएको परिपाटीले नै बेनीघाट रोराङलाई देशकै उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गराएको स्थानीयवासीको धारणा छ । तस्वीरः नर्बदा घिमिरेको फेसबुकबाट लिईएको हो ।

x