एनएमएको महासचिवमा धादिङका नहर्कीको उम्मेदवारी

Avatar photo
Dhadingpost
भदौ ५, २०८२

धादिङ । यही भदौ ७ गते हुन गइरहेको नेपाल पर्वतारोहण संघ (NMA) को महासचिव पदमा धादिङका बिमल कुमार नहर्कीले उम्मेदवारी दिएका छन् ।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–२ घर भई करिब चार दशकदेखि पर्यटन व्यवसायमा संलग्न नहर्कीले धादिङकै कुलबहादुर गुरुङको समूहबाट महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

नहर्कीको परिचय
पर्यटन क्षेत्रमा उहाँको सक्रियता सन् १९८६ मा होटल व्यवसायबाट सुरु भई १९९२ देखि पर्वतीय पर्यटनसम्म फैलिएको हो। पोखरामा अवस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाहोटल पोखरा बाटिका सञ्चालन गर्दै नहर्कीले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

सन् १९९२ मा स्थापित इको ट्रेक नेपाल मार्फत उहाँले नेपालको हिमाली क्षेत्रहरूको पर्यटन प्रवर्द्धनमा विशिष्ट भूमिका निर्वाह गर्दै आएका उनी २०१४ मा एनएमए कार्यसमिति सदस्य रहनुका साथै दुई पटक पर्वतारोहण सहयात्री संघ (Expedition Operators Association of Nepal – EOAN) का अध्यक्ष भई सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका व्यक्ति हुन् ।

हाल उनी कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष छन् । कैलाश–मानसरोवर यात्रा प्रवर्द्धनमा उनको सक्रिय नेतृत्वले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको मानिन्छ ।

नहर्कीले आरोहण सुरक्षामा सुधार, लाइसेन्स प्रक्रियामा सुधार, पेशागत आरोहीहरूको हकहित संरक्षण, नयाँ पुस्ताका लागि अवसर, पर्यावरणीय उत्तरदायित्व, संघमा पारदर्शिता र जवाफदेहिताजस्ता एजेन्डा बोकेर आफू चुनावमा होमिएको धादिङपोष्टलाई दिए ।