शिक्षा अधिकृत बनेर गंगाजमूना जाँदै विजय

Avatar photo
Dhadingpost
साउन २८, २०८२

धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइको सुरुवात गरेका विजय तामाङ अब आफ्नै जिल्लास्थित गंगाजमूनामा शिक्षा अधिकृतको रूपमा पदस्थापित भएका छन्।

विद्यालय तहदेखि नै पढाइमा अब्बल रहेका उनले बागमती प्रदेश लोकसेवा आयोगले लिएको शिक्षा अधिकृत (सातौँ तह) मा सफलता हासिल गरी गंगाजमूनामा शिक्षा अधिकृतका लागि खटाइएका हुन्।

विजयले सुरुवातमा एड्भान्स एकेडेमीमा अध्यापन गरेर आफ्नो पेशागत जीवनको थालनी गरेका थिए। गत वर्ष मात्र नीलकण्ठको शंखादेवी प्राथमिक विद्यालयमा स्थायी दरबन्दीमा नियुक्त भएका उनले फेरि बागमती प्रदेश लोकसेवा आयोगको शिक्षा अधिकृत (सातौँ तह) मा समेत नाम निकाल्न सफल भएका हुन्।

खेललाई अत्यन्त माया गर्ने र खेलकुद बिना शिक्षण प्रभावकारी हुन सक्दैन भन्ने विश्वास राख्ने विजय, अब गंगाजमुनाको शिक्षा अधिकृत बनेर गएसँगै, गंगाजमुनाको विद्यालयस्तरीय खेलकुदले फड्को मार्ने अनुमान गर्न सकिन्छ।