
धादिङ । भक्तपुर चांगुनारायण स्थित बिनिसा एण्ड भावेश मशरुम उद्योगले प्रति केजी पाँच रुपैयाँमा मकैको खोया किन्ने भएपछि धादिङको गल्छी गाउँपालिका सहित केहि पालिकाहरुले सूचना जारी गर्दै खोया विक्रि गर्न किसानलाई अनुरोध गरेका छन् ।
सञ्चालक बिश्वजित रिमालले धादिङपोष्टलाई जनाए अनुसार खोया संकलन गर्ने, जोख्न र भण्डारण गर्न सहयोग गर्ने कृषक समुह, सहकारी वा सर्बासाधारणलाइ प्रति किलो रु.१ प्रदान गरिने छ भने किसानले प्रति किलो रु.५ पाउने छन् ।
हामीले देशभरका स्थानीय तहलाई मकैंको खोया उपलब्ध गराईदिन अनुरोध गरेका छौं अहिले सम्म धादिङको गल्छी, नुवाकोटको बिदुर र पञ्चकन्याले सूचना जारी गरेर खोया विक्रि गर्न किसानलाई अनुरोध गरेको उनले बताए ।
हामी जति आएपनि खोया खरिद गर्दछौं । च्याउँ उत्पादनका लागि पराल र छवाली भन्दा मकैको खोया substrate को रुपमा बढी उपयोगी भएकाले खोया खरिद निरतर हुने उनले बताए ।
