काठमाडौंमा सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन २, २०७९

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् । प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको अस्थायी बिट तोडफोड भएको छ भने दुईवटा भ्यान जलाइएको छ। घटनामा १० जना प्रहरी घाइते भएको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनले प्रहरीले बल प्रयोग नगरेकोले प्रदर्शनकारीहरू घाइते नभएको बताए। प्रदर्शनकारीको ढुंगामुडाबाट एक दर्जन बस तथा निजी सवारीसाधनमा क्षति पुगेको छ।

यता, मजदुर संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी र ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीको आक्रमणबाट एक दर्जन मजदुर घाइते भएको उल्लेख छ। ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्।

विज्ञप्तिमा आफ्ना दशबुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द हुने उल्लेख छ। उपत्यकाबाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्वनिर्धारित कार्यक्रम यथावत सञ्चालन गर्न उनीहरूले अपिल गरेका छन्। गंगबुस्थित नयाँ बसपार्कमा भेला भएका वेला नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, लोत्सेकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गर्दा दर्जनौँ मजदुर र संगठनका नेताहरू घाइते भएका छन्। कतिपय मजदुरहरूलाई प्रहरीले पक्राउ गरेको बताईएको छ । तस्बिर : सुजन गुरुङ

x