
धादिङ । नीलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका बीचको सम्बन्ध यतिबेला चिसिएको छ । यी दुई पालिका कांग्रेसले जितेको भएपनि गुट नमिल्दा आँखु बगरको बहानामा टकरावमा छन् । यी दुई पालिकाको सिमा छुटाउने आँखु खोलाको बगरका कारण यी दुई पालिकाहरु अहिले आमने सामने भएका छन् । यहि टकरावले टारीबेसी सल्यानटार सडक कालोपत्रे हुने काम समेत प्रभावित बन्न पुगेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाले टारीबेसी सल्यानटार सडक कालो पत्रे गर्नका लागि त्रिपुरासुन्दरी गाउँपालिका वडा १ र २ को सिमानामा आईईई प्रतिवेदनले तोकेको क्षेत्र रिजाल चौतारो देखि बट्टार पान्धारे हुँदै ह्यापिङ्गे दोभान सम्मको नदी जन्य पदार्थ उत्खनन गर्न दिने गरि ३५ लाखमा बन्जरा एण्ड कम्पनी प्रालिलाई ठेक्का दियो । कम्पनीले जव संझौतामा तोकीएको स्थानबाट नदी जन्य पदार्थ उत्खनन थाल्यो, तव निलकण्ठका नगर प्रहरीहरु गएर उत्खननमा प्रयोग भएका गाडीहरुको चावी र ब्लुबुक कब्जामा लियो । कब्जामा मात्रै लिएन उक्त क्षेत्रमा कति, नदी जन्य पदार्थ उत्खनन भयो नापेर कर र जरिवाना सहित १३ लाखका आफुलाई बुझाउन नीलकण्ठ नगरपालिकाले पत्र चार गर्यो ।
त्रिपुरासुन्दरीले आफ्नै भुगोलमा टेण्डर गरेर ठेक्का दिँदा पनि नीलकण्ठ नगरपालिकाले दादा गिरी देखाएको बताउँदै आएको छ । विगतमा पनि त्रिपुरासुन्दरीले नै नियमित नदी जन्य पदार्थ उत्खनन गर्दै आएको हो । हामीले हाम्रै पालिकाको क्षेत्रबाट जन्य पदार्थ उत्खनन गरेका हौं खोलापारी नीलकण्ठ पटि गएकै छैनौ पालिका अध्यक्ष राजु उप्रेती बताउँछन् । हामी आँखु तरेर जन्य पदार्थ उत्खनन गरेको भएपो अवरोध गर्नु हाम्रै क्षेत्रमा आएर दादा गिरी देखाउने, काममा रहेका गाडीको चावी-ब्लुबुक कब्जा गर्ने निलकण्ठको यो कार्यले टारीबेसी सल्यानटार सडक कालो पत्रको काम समेत प्रभावित बनेको उनले बताए ।
कांग्रेस भित्रको गुटको प्रभाव
नीलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरीको यो विवादलाई कांग्रेस भित्रको दुई गुटको टकरावको रुपमा स्थानीयहरु लिन्छन् । नीलकण्ठका मेयर भिम ढुङ्गान देउवा पक्षका हुन्, उनको गुटलाई समर्थन नगरेकै कारण त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेतीलाई ढुङ्गानाले पेलेको स्रोतको दावी छ । नत्र विगतमा त्रिपुरासुन्दरीले यहि स्थानबाट नदी जन्य पदार्थ उत्खनन गर्दा नीलकण्ठको मेयर ढुङ्गाना नै थिए । त्रिपुरासुन्दरीको अध्यक्ष अहिले आफ्नै पार्टीका उप्रेती हुँदा ढुङ्गानाले आँखुपारि गएर किन अवरोध गरिरहेका छन् ? यस विषयमा त्रिपुरासुन्दरीका उप प्रमुख देवराज धरेलले पनि मुख खोले । राजुलाई पेल्ने नाममा त्रिपुरासुन्दरीका जनतालाई समेत प्रभावित हुनेगरि ढुङ्गाना प्रस्तुत भएको आफुलाई लागेको उनले बताए । सहजीकरणका लागि मैले ढुङ्गानालाई कल गरेको छु, प्रमुख प्रशासकियलाई गर्नु भन्नु हुन्छ प्रशासकियलाई कल गर्दा, मेयर उप मेयरलाई भन्नु । मेयर भिम ढुङ्गाना यहि तवरले अगाडी बढ्नु भयो भने त्रिपुरासुन्दरी कै कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखउने स्थिति पैदाभएको उनी बताउँछन् । मेयर ढुङ्गानाले भने खोलो थुनेर निलकण्ठ पटी बगाईएको र बगर आफ्नो पटि पारिएको बताए । नीलकण्ठको भु-भाग आफु नछाड्ने र १३ लाख जरिवाना र कर तिर्न आए बसेर छलफल गर्न सकिने उनले बताए ।
के भन्छन् त्रिपुराका प्रमुख प्रशासकिय अधिकृत -इन्द्र खतिवडा
दुई पालिकाको सिमाना आँखु खोला हो । खोलोको भंगालो नीलकण्ठ पछि नै छ यो थुनेर बनाईएको हैन भुगोलमा गएर हेर्दा प्रष्टै देखिने कुरा हो । गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने ठाउँमा ठेक्का दिएको हो । नदी जन्य पदार्थ उत्खनन गरिएको क्षेत्र त्रिपुरासुन्दरी कै भएको जानकारी जिल्ला प्रशासनलाई पनि गराईएको उनले बताए ।
के भन्छन् नीलकण्ठका प्रमुख प्रशासकिय अधिकृत -दिनेशराज पन्त
नीलकण्ठ नगरपालिकाले त्रिपुरासुन्दरीले नदी जन्य पदार्थ उत्खनन गरेको भनेर प्रशासन र प्रहरीकोमा जानकारी गराईएको छ । उक्त कार्य वापत कर सहित १३ लाख जरिवाना गरिएको छ । चावी-ब्लुबुक नियन्त्रणमा लिएको हो ति गाडी नियन्त्रणमा लिन प्रहरीलाई भनेका छौं । दुई पालिका बीच सुमधुर सम्बन्ध आवश्यक छ यो विषय प्रशासनमा पुगेकोले उताबाटै निर्णय आउने उनले बताए ।



