धादिङ अस्पतालमा आईसियु सञ्चालन

Avatar photo
Dhadingpost
पुस २५, २०७९

धादिङ । धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्दै पुस ३ गते राजाराम रिजालले तत्काल सघन उपचार कक्ष (आईसियु) सेवा संचालन गरिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता कार्यान्वयन सँगै जिल्ला अस्पतालमा पुस २४ गते आईतबार देखि सघन उपचार कक्ष (आईसियु) सेवा सुरु भएको छ ।

जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकका अनुसार अहिले ४ जना मेडिकल अधिकृत सहित ६ जना स्टाफ नर्स आईसियुको लागि व्यबस्था मिलाईएको छ। विषेशज्ञ चिकित्सकले आवश्यकता अनुसार आईसियुमा राउण्ड ड्युटी र अनकल सेवा दिनेछन।

कोभिडको दोस्रो लहरमा तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलालबाट उदघाटन भई ६ महिना जति संचालन भएर बन्द भएको आइसियु पुनः सञ्चालनमा आएपछि आईतबार साँझबाट ज्वालामुखी-६ धादिङ निवासी ४५ वर्षीय पुरूष नकुल शाक्यले उपचार सेवा लिएका छन् ।

क्रिटिकल केयर गर्नुपर्ने गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूलाई न्यूनतम शुल्कमा धादिङ अस्पतालले सेवा प्रदान गर्ने उद्देश्यले आइसियु सञ्चालन गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए । त्यस्तै गरेर अध्यक्ष रिजालले अति गरिब र आकस्मिक आइसियु उपचार सेवा प्रदान गर्नुपर्ने बिरामीहरूलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आंशिक वा पूर्ण छुटमा समेत आईसियुमा बिरामीहरूको उपचार गरिने बताए।