कार्यदलले आज उच्चस्तरीय संयन्त्रलाई मस्यौदा बुझाउने

Avatar photo
Dhadingpost
पुस २२, २०७९

काठमाडौं । न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बस्ने बैठकबाट मस्यौदालाई अन्तिम रूप दिने बताए ।

‘मस्यौदा तयारीको क्रममा छ, शुक्रबार बस्ने बैठकबाट सबै टुंगो लगाएर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,’ उनले भने । मस्यौदालाई बिहीबारै टुंग्याउने तयारी भए पनि माओवादीका तर्फबाट कार्यदलमा रहेका उपमहासचिव वर्षमान पुन अनुपस्थित रहेका कारण शुक्रबार अन्तिम रूप दिएर उच्चस्तरीय राजनीतिक संयन्त्रमा बुझाउने सहमति कार्यदलमा भएको छ ।

पुनको अनुपस्थितिका कारण बिहीबारको बैठक मस्यौदा प्रस्तुति र सामान्य छलफलपछि टुंगिएको थियो । कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो । सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन् ।

नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाएर सुशासनको प्रत्याभूति दिलाउने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने, अर्थतन्त्रको सुधार गर्दै जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर सम्बोधन गर्दै अघि बढ्नेजस्ता विषयमा मस्यौदा केन्द्रित छ ।

x