सकसमा सत्ता गठबन्धन, आज निर्णायक बैठक

Avatar photo
Dhadingpost
पुस १०, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने ‘बटमलाइन’ बनाएपछि सत्तागठबन्धन संकटमा परेको छ । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन दिएको एक साताको समय सकिने अघिल्लो दिनसम्म नयाँ सरकारको नेतृत्वलाई लिएर सहमति जुटेको छैन । अन्तिम समयमा लिनुपर्ने सम्भावित कदमलाई लिएर देउवा र प्रचण्ड दुवैले आन्तरिक रूपमा वैकल्पिक गठबन्धनको तयारी पनि गरिरहेका छन् ।

शनिबार दिनभरका राजनीतिक घटनाक्रम, भेटघाट र बैठकमा कांग्रेस र माओवादीको जोड पहिलो कार्यकाल आफ्नै नेतृत्वको सरकार बन्नुपर्नेमा छ । भावी प्रधानमन्त्रीमै विवाद भएपछि कांग्रेस र माओवादी समग्र शक्ति बाँडफाँडमा प्रवेशसमेत गरेका छैनन् । सत्तागठबन्धन एक्लैलाई संसद्मा सुविधाजनक बहुमत नभएकाले कांग्रेस र माओवादीको जोड पहिलो कार्यकालकै प्रधानमन्त्रीमा छ । समग्र शक्ति बाँडफाँडमा प्रवेश गरे उनीहरूले प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरूको भागबन्डा गर्न सक्छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ बसेको सत्तागठबन्धनको बैठकमा माओवादीले पहिलो कार्यकालमा आफूले प्रधानमन्त्री बन्नुपर्ने अडान राखेको छ भने कांग्रेस छाड्न तयार देखिएको छैन । ठूलो दलको हैसियतमा सरकारको नेतृत्व आफ्नोपार्टीले पाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।

गठबन्धनकै बलमा देउवा प्रधानमन्त्री बनिसकेकाले पहिलो कार्यकाल आफ्नो पार्टीले पाउनुपर्ने माओवादी नेताहरूको दलिल छ । संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनको दाबी गर्ने समय आइतबार साँझ ५ बजेसम्म छ । शनिबार सहमति नभएपछि सत्तागठबन्धनका नेताहरू आइतबार बिहान पुनः बैठक बस्ने गरी उठेका छन् । आ–आफ्नो दलमा छलफल गरेर आइतबार बिहान निर्णयमा पुग्ने तयारी गर्ने उनीहरूको सहमति छ ।

सरकारमा प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा गम्भीर रूपमा छलफल भएको र आइतबार टुंगोमा पुग्ने जानकारी दिए । उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘निर्वाचनपछि सम्भवतः पहिलोपटक पाँचदलीय गठबन्धनको बैठक बसेर विकसित राजनीतिक घटनाक्रमसहित धेरै विषयमा गम्भीर छलफल गरेका छौँ । जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अगाडि जानेमा समहत भएका छौँ । आइतबार निष्कर्षमा पुग्नैपर्ने संवैधानिक बाध्यता छ,’ कार्कीले भने, ‘प्रधानमन्त्री को पहिले बन्ने भन्ने गौण हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिले जनताको आकांक्षाअनुसार अगाडि बढाउने महत्वपूर्ण हो । छलफल जारी छ, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’

माओवादी महासचिव देव गुरुङले माओवादीको प्रस्तावमा कांग्रेस सहमत हुन नसक्दा शनिबार निष्कर्षमा पुग्न नसकेको बताए । ‘को पहिला प्रधानमन्त्री भन्ने विषयले सहमति जुट्न सकेको छैन । कांग्रेस सभापतिले पार्टीमा प्रेसर पर्‍यो, अहिले छाड्न गाह्रो भयो भन्नुभयो । हामीले आलोपालो सहमतिअनुसार अहिले कांग्रेसले छाड्नुपर्ने कुरा राख्यौँ । अहिले पनि कांग्रेसकै नेतृत्व भएकाले अब सुरुमा माओवादीले नेतृत्व गर्दा स्वाभाविक हुन्छ, परिवर्तनको आभास पनि हुन्छ भन्ने हाम्रो तर्क छ,’ उनले भने, ‘तर, कांग्रेसले अडान छाडेको छैन । गठबन्धनका अरू दलहरूबाट आपसी सहमतिमा टुंग्याउन आग्रह भएपछि उहाँ (देउवा) छलफलबाट निष्कर्षमा पुग्न सहमत हुनुभएको छ । आइतबार फेरि बैठक बस्छौँ ।’

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्रीमा कांग्रेस र माओवादीको दाबीको विषय टुंगो नलाग्दा सहमतिमा पुग्न नसकिएको बताए । गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी बनेको उनको भनाई छ । पहिला को भन्ने विषयमा माओवादी र कांग्रेसबीच कुरा नमिल्दा सहमतिमा पुग्न नसकेको उनको भनाइ छ । गठबन्धनलाई निरन्तरता दिने विषयमा भने सबै दल एकमत रहेको उनको तर्क छ ।

‘यही गठबन्धन अगाडि बढाउन हामी सबै सहमत छौँ । तर, प्रधानमन्त्री आलोपालो गर्दा को पहिला भन्ने टुंगिन बाँकी छ । सुरुको प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दाबी छ,’ उनले भने, ‘गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी छ । प्रधानमन्त्रीको विषय टुंगो लागेपछि अरू पदको बाँडफाँड टुंगिन्छ । भोलि फेरि गठबन्धनको बैठक बस्छ । त्यसअघि दलहरूबीच आन्तरिक छलफल हुन्छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस र माओवादीमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयले निष्कर्ष ननिस्किएपछि दुई दललाई सल्लाह गरेर निष्कर्ष निकाल्न आग्रह गरेका थिए । जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार अध्यक्ष केसीले पार्टीको नीतिअनुसार गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका थिए । बैठकमा अध्यक्ष केसीले आफू सरकारमा सहभागी नहुने, तर समर्थन गर्ने जनमोर्चाको निर्णय बैठकमा स्मरण गराएका थिए । ‘हामी सरकारलाई समर्थन गछौँ, सहभागी हुँदैनौँ । तर, वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमा हामी दृढ छौँ । भागबन्डाको विषयमा तपाईंहरू मिल्नुहोस् । कांग्रेस र माओवादीमा को पहिला प्रधानमन्त्री बन्ने भन्ने तपाईंहरू सल्लाह गरेर टुंगोमा पुग्नुहोस्,’ केसीको भनाइ उद्धृत गर्दै पुरीले नयाँ पत्रिकासँग भने ।

सहमतिका लागि शनिबार नेताहरूको दौडधुप चलेको थियो । बिहान ८ बजे प्रचण्डनिवास खुमलटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डसँग भेट गरेका थिए । भेटमा पौडेलले गठबन्धन टुट्ने अवस्था आउन नहुने भन्दै गठबन्धनमा सहमति जुटाउनका लागि आग्रह गरेका थिए । पौडेल राष्ट्रपतिका आकांक्षी छन् ।

त्यसैगरी शनिबार बिहान नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । पौडेल र खड्का दुवै नेतासँगको भेटमा प्रचण्डले पहिलो कार्यकालमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दोहोर्‍याएका थिए । खड्काले प्रचण्ड र नेपालसँग सहमति खोज्न र गठबन्धनलाई नै निरन्तरता दिन आग्रह गरेका थिए ।

कांग्रेसका दुई नेताले आफूलाई भेटेपछि प्रचण्डले पार्टी उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउवासँग भेट्न बालुवाटार पठाएका थिए । प्रचण्डले पुनमार्फत शनिबारको बैठक निर्णायक हुने सन्देश प्रधानमन्त्री देउवाकहाँ पठाएका थिए । बिहान पौने १२ बजे बालुवाटार छिरेका पुन करिब १५ मिनेट बसेर बाहिरिएका थिए ।

पुनले पहिलो कार्यकाल प्रधानमन्त्री माओवादीले नपाउने अवस्थामा आफूहरूले गठबन्धनबाट बाहिरिएको औपचारिक निर्णय लिने प्रचण्डको सन्देश रहेको जानकारी गराएका थिए । तर, देउवाले बाहिरिने निर्णय नगर्न र पार्टी र गठबन्धनमा थप छलफल गरेर यही गठबन्धनलाई निरन्तरता दिन आफू तयार रहेको बताएका थिए ।

यिनै राजनीतिक भेटघाटपछि दिँउसो ४ बजे बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । गठबन्धन बैठकअघि अध्यक्ष प्रचण्डले देउवासँग एकल छलफल गरेका थिए । गठबन्धनमा करिब तीन घन्टा छलफल चलेको थियो । तर, निर्णायक भनिएको बैठक निष्कर्षमा भने पुग्न सकेन ।

बैठक सकिएलगत्तै कांग्रेस नेता बालुवाटारमै आन्तरिक छलफलमा जुटेका थिए । बैठकमा कांग्रेसबाट सभापति देउवा, उपसभापति खड्का, नेता कृष्ण सिटौला र कार्की सहभागी थिए । उता माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि पार्टी नेताहरूसँग सहमतिका विकल्पबारे छलफल गरेका थिए ।

नेतृत्व लिने दाबी छाड्न देउवा र प्रचण्ड तयार भएका छैनन् । बरु, दुवै नेता एक–अर्कामाथि निर्णायक दबाब बनाउने रणनीतिमा छन् । ३ पुसमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दललगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । माओवादी नेताहरूले पहिलो कार्यकाल कुनै हालतमा नछाड्न प्रचण्डलाई सुझाएका छन् । सकेसम्म राष्ट्रपति र प्रधानमन्त्री दुवै लिने, नभए पहिलो कार्यकाल प्रधानमन्त्री छाडेर भए पनि राष्ट्रपति लिन कांग्रेसका कतिपय नेताको देउवालाई सुझाव छ ।

आज निर्णायक बैठक
शनिबार दिनभरका भेटघाट र बैठकमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेका छन् । भावी प्रधानमन्त्रीमै विवाद भएपछि कांग्रेस र माओवादी समग्र शक्ति बाँडफाँडमा प्रवेशसमेत गरेका छैनन् । आइतबार पुनः बैठक बस्ने गरी उठेका सत्तागठबन्धनका नेताहरू आ–आफ्नो दलमा छलफल गरेर वारपारको निर्णय लिने तयारीमा छन् ।नयाँ पत्रिकाबाट

x