चिसो मौषममा स्वास्थ्यको ख्याल कसरी गर्ने ? थाहा पाउनुस्

Avatar photo
Dhadingpost
पुस २, २०७९

धादिङ । पुस महिना लागिरहँदा जाडो अत्यधिक बढेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यायो बनाइराख्‍न हामी आगो ताप्ने, हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गर्दछौँ ।

जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा राख्ने पहिलो उपाय भएको डा. अभिजित अधिकारी बताउँछन् । अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ। तापक्रमसँगै हावाको आद्रताको पनि विशेष ख्याल राख्नुपर्छ। नाक, कान, औँलाको चुच्चो संवेदेनशील हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा मास्कको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ, उनी भन्छन्।

बालबालिका र दीर्घरोगीको ख्याल राख्नपर्छ
चिकित्सका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ। डा. अधिकारी भन्छन्, ‘रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ। स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ।’ स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो। यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ। स्वस्थकर खानपानमा ध्यान दिनुपर्छ।

जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन्। डा. दीपक मल्ल चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गर्छन्। ‘मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन। उहाँहरुको छाला पातलो हुन्छ। धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ,’ उनले भने।

जाडोयाममा ‘मर्निङवाक’ घातक
डा. मल्ल मधुमेहका बिरामीलाई चिसोमा घाम झुल्किनु अघि मर्निङवाकमा नजान सुझाव दिन्छन्। ‘बिहान तापक्रम एकदमै कम हुन्छ, त्यसमाथि खाली पेटमा हिँड्नु घातक साबित हुन सक्छ,’ उनी भन्छन्। डा. अधिकारी पनि मर्निङवाक गर्दा चिसोमा सुक्खा हावाका कारण स्वासप्रश्वासको समस्या बढ्नसक्ने बताउँछन्।

‘नाकमुख ढप्प पारेर हिँड्दा वरपर ध्यान नपुग्न सक्छ। यसबाट दुर्घटनाको जोखिमसमते बढ्छ,’ उनी थप्छन्। यसको विकल्पमा घरभित्रै शारीरिक व्यायाम गर्ने वा घाम लागेपछि बाहिर निस्किन डा. अधिकारी सुझाव दिन्छन्।

चिसोमा न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ। एउटामात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ।

फलफूलले चिसो लाग्छ भन्नु खानाप्रतिको भ्रम : जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ। पोषणविद् डा. उमा निरौला भन्छिन्, ‘जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ। ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ।’

‘जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ। पोसिलो र उच्च गुणस्तरको कार्बोहाइड्रेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ,’ डा. निरौला थप्छिन्। फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानुपर्ने उनको भनाइ छ। जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम हो। मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ। यी खानाले भाइरसँग लड्न सजिलो हुन्छ। चिया कफीको लत नबनाउन डा. निरौलाको सुझाव छ।

शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उनको सुझाव छ। खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ। हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ। हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ। घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन्।

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको
प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु

जाडो याममा शरीर वा कोठालाई न्यानो बनाईराख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्नेलगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले सावधानीका निम्न उपायहरु अपनाऔं ।
१. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौं ।
२. कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।
३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं ।
४. आगो तापी सकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।
५. हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं ।
६. सुत्नु अघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।
७. गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुल्ला ठाउँमा जडान गरौं ।
८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।
होसियारी अपनाउँदा गपनाउँदै पनि अप्रिय घटना भएमा नआत्तिकन १०० प्रहरी र १०२ मा एम्बुलेन्सलाई कल गरौं
जनहितका लागि रुबीभ्याली गाउँपालिका

x