सत्ता समीकरणको सम्भावित अंकगणित

Avatar photo
Dhadingpost
पुस १, २०७९

गठबन्धनकै सरकार
वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेससँग तालमेल गरेको थियो। सत्ता गठबन्धनसँग स्पष्ट १३२ मत छ ।

लोसपाको जोड्दा १३७ हुन्छ । सरकार सञ्चालनका लागि कूल २७५ सांसद मध्ये १३८ सांसद आवश्यक पर्छ । त्यसैले सत्ता गठबन्धनले पहिलो चरणमा जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीका नेतासँग छलफल गर्‍यो । ५ सिटको जनमतले सत्ता गठबन्धनलाई सघाउ गर्ने बतायो । नागरिक उन्मुक्ति पार्टीलाई साथमा लिन सरकारले पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने गरी अध्यादेश नै ल्यायो। अध्यादेश सरकारले राष्ट्रपति कहाँ पठाएपनि समर्थन भन्दा विरोधको आवाज धेरै भएकाले के हुने भन्ने टुंगिएको छैन।

असम्भव बाम गठबन्धन
सरकार बनाउन दलहरु कसरत गरिरहेको बेला बाम गठबन्धनको चर्चा चलिरहेको छ। तर राजनीतिक विश्लेषकले त्यो सम्भव नदेखिने बताउँछन्। नेकपा एमालेको ७८, नेकपा माओवादी केन्द्रको ३२ (नेपाल समाजवादी १ सिट सहित), नेकपा एकीकृत समाजवादीको १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको १/१ जोड्दा १२२ पुग्छ। सरकार बनाउन बामपन्थी दलबाहेकको थप १६ सिट चाहिन्छ । त्यसका लागि २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य दलको साथ लिनुपर्ने हुन्छ।

बहसमा एमाले-माओवादी केन्द्रको सरकार
सत्ता समीकरण कस्तो बन्ने भन्ने बहस जारी रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तालमेलको विषय पनि पेचिलो बन्दै गएको छ। नेकपा एमालेप्रति केही नरम देखिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो एजेण्डा बोकाएर मातहतका नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पठाउन थालेका छन्।

एमालेसँगको समझदारीमा पहिलो कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने र राष्ट्रपतिसहितका अन्य कार्यकारी पदमा शक्ति सन्तुलन गरेर अघि बढ्ने बारे चर्चा पनि भइरहेको छ। यहाँ एमाले र माओवादीबीच कुरा मिले यो गठबन्धनमा राप्रपा आउन सक्ने देखिन्छ।

त्यसो भए नेकपा एकीकृत समाजवादी केही कार्यकारी पद पाउने सर्तमा सरकारमा सहभागी हुन सक्ने बाम विश्लेषकहरु बताउँछन् । एमाले, माओवादी केन्द्र, राप्रपा र समाजवादी मिलेर सरकार बन्न सक्ने सम्भावना पनि अहिले बढ्दै गएको देखिन्छ।

कांग्रेस-एमाले सरकार
यो पटकको जनादेशले नेपाली कांग्रेसलाई पहिलो र नेकपा एमालेलाई दोस्रो ठूलो दल बनाएको छ। यी दुई ठूला दलबीच पनि सत्ता साझेदारी हुनसक्ने सम्भावना पनि बढ्दै गएको छ।

तत्काल सम्भवजस्तो नदेखिए पनि समीकरण मिलाउन नेताहरूले गृहकार्य थालेका छन्। सरकारमा सहभागी हुन एमाले अध्यक्ष केपी ओलीले चाहे यो गठबन्धन हुने देखिन्छ।

यी दुई दलबीच समझदारी बने कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने र एमालेले समर्थन गर्ने, दोस्रो चरणमा केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र कांग्रेसले समर्थन गर्ने भन्ने सहमति हुनसक्छ। दुई दल मिले अरुको सहायता चाहिँदैन। कांग्रेस र एमालेको सिट १६७ हुन्छ।

यी सम्भावित समीकरणबारे विभिन्न कोणबाट छलफल भइरहेको छ। राजनीतिक दलहरूले संसदीय दलको नेता टुंग्याउन पनि गृहकार्य गरिरहेका छन्। सत्ता समीकरण मिलेसँगै राजनीतिक दलले संसदीय दलको नेता टुंग्याएपछि आगामी सरकारको नेतृत्व कसको काँधमा भन्ने तय हुनेछ।अन्नपुर्णपोष्टबाट

x