
काठमाडौं । एक सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार निर्माणका लागि ५६ सिट आवश्यक छ । यस प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले सरकार निर्माणका लागि बहुमत पाएका छन् ।
दोलखाको दुई क्षेत्रको परिणाम आउन बाँकी रहँदा पनि प्रत्यक्षमा पाएको सिट र समानुपातिकमा प्राप्त मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने स्पष्ट बहुमत देखिएको छ । सरकार बन्न ५५ सिट आवश्यक भएकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी ६४ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ ।
बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १४ सहित ३६, माओवादीले प्रत्यक्षमा १४ सहित २१ र एकीकृत समाजवादीले प्रत्यक्षमा पाँचसहित सात सिट प्राप्त गर्ने देखिएको छ । त्यसैगरी, एमालेले १२ प्रत्यक्षसहित २६, राप्रपाले सात प्रत्यक्षसहित १४ सिट प्राप्त गर्ने सम्भावना छ ।
मुख्यमन्त्री आकांक्षी : कांग्रेसबाट इन्द्र बानियाँ र बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् । एमालेबाट केशवप्रसाद पोखरेल, अमनकुमार मास्के, प्रकाश श्रेष्ठ, जयराम थापा दाबेदार हुन् । प्रमुख दाबेदार मानिएका रामेश्वर फुँयाल र सानु श्रेष्ठ पराजित भएपछि अवसर पाउँदा उनीहरूमध्ये एकले मौका पाउन सक्छन् । माओवादीबाट शालिकराम जम्कट्टेल एक्ला दाबेदार हुन् ।
