राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ ?

Avatar photo
Dhadingpost
मंसिर १३, २०७९

बीबीसी । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको ९० प्रतिशत मतगणना सकिँदा छ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि तीन प्रतिशतको सीमा नजिक पुगे पनि राष्ट्रिय पार्टी बन्ने वा नबन्ने अझै निश्चित भइसकेको छैन।

यो निर्वाचनबाट प्रत्यक्षतर्फ सात सिट जितेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि कांग्रेस र एमालेपछि माओवादी हाराहारीमा मत ल्याएर राष्ट्रिय दल बन्ने सुनिश्चित गरिसकेको छ। यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले समानुपातिकतर्फको ९५ लाख भन्दा केही बढी मत गणना गरिसकेको छ।

राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ?
जानकारहरू राष्ट्रिय दल हुँदा र नहुँदा धेरै फरक चाहिँ नपर्ने बताउँछन्। राष्ट्रिय दलले अर्को निर्वाचन सम्मका लागि आफ्नो चुनाव चिन्ह सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ। संसद् सचिवालयले राष्ट्रिय दल नभए पनि दुई जना भन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने अभ्यास रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

“दुई वटा सिट भएका दलहरूलाई छुट्टै संसदीय दलको कार्यालय दिने गरिएको छ। १० भन्दा बढी सिट भएका दलहरूले सचेतकका लागि सचिवालय र सुविधा पाउँछन्। सङ्घीय संसद् सुविधा ऐनले राष्ट्रिय दल भएका र नभएका दलहरूलाई दिइने सुविधा अलग गरेर छुट्टाएको छैन,” उनले भने।

x