
काठमाडौं । निर्वाचन आयोगले आज १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोग आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू हुन्छ । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न नपाउने उनले प्रस्ट पारे ।

निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ । यसैगरी, आसन्न निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान पाइनेछैन । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशनसमेत जारी गरेको छ ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ । निर्देशनअनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् ।







