
धादिङ । नीलकण्ठ नगरपालिकामा यु.एस.ए.आई.डी. को सहयोगमा फिड प्रा.लि. ले पहिरो पुर्वसुचना प्रणाली स्थापना गर्ने जनाएको छ । फिड प्रा.लि.का प्रबन्ध निर्देशक डा. सन्जय देवकोटाको नेतृत्वमा रहेको टोलिले अबको एकबर्ष भित्र बृहत् भौगर्भिक अध्यन गर्दै सो प्रणाली स्थापना गर्ने जनाएका छन । सो शुभारम्भ बैठकमा डा. सन्जय देवकोटा, डा. गोबिन्द आचार्य, डा. वसन्त राज अधिकारी, ई. सुरज गौतमको, भुवन राज अवस्थी उपस्थिति रहेको थियो ।
नीलकण्ठ नगरपालिका भित्र सब-बेसिन (उप-जलाधार) स्केल तथा कुनै एक सम्भावित क्षेत्रमा उपकरण जडान हुने भएको छ । जल तथा मौसम बिज्ञान बिभागबाट सम्प्रेषण हुने ३ दिने मौसम पुर्वानुमानलाई समेत एकीकृत गर्दै सो प्रणालीले बर्षा तथा बर्षाका कारण जमिनले सोसेको पानीको मात्रा मापन गर्दै नगरपालिका स्थित स्थानिय आपतकालीन संचालन केन्द्रलाई जानकारी गराउने छ ।
सो उपकरणबाट प्राप्त भएको तथ्यांक विश्लेषण गर्दै पहिरोको पुर्वानुमान गरिने र पुर्वसुचना सम्प्रेषण गर्न मद्दत पुर्याउने जानकारी अध्ययन टोली प्रमुख डा. देवकोटाले दिएका छन । नेपालमा निकै बिरलै रुपमा यस्ता नविनतम प्रयासहरु भएका छन र त्यस मध्ये पनि, बर्षा मापन केन्द्र सङ्ग-सङ्गै जमिनभित्र सेन्सर जडान गरेर माटोमा रहेको पानीको मात्रालाई समेत ध्यानमा राखी गर्न लागिएको यस अनुसन्धान नेपाल मै पहिलो र निकै महत्वपूर्ण रहेको दाबी डा. अधिकारीले गरेका छन ।
“केही दशकको अनवरत प्रयास पश्चात् बाढी पुर्वानुमानमा नेपालले उल्लेख्य प्रगती हासिल गरेको देखिन्छ । पहिरो अध्ययन बाढीभन्दा निकै नै जटिल रहेको हुदा, पहिरो पुर्वानुमानमा नेपाल प्रारम्भिक चरणमा रहेको छ र यस अध्यनले पहिरो पुर्वसुचना प्रणाली स्थापनाका गर्नका लागि बलियो आधार तय गर्नेछ”, डा. आचार्य बताउछन ।
यस प्रणालीको परिक्षण नीलकण्ठ नगरपालिकामा हुन गइरहेको सन्दर्भमा नगरपालिका निकै उत्साहित रहेको र समग्र नगरवासीलाई यस प्रणालीले सहयोग पुर्याउनेमा विश्वसत रहेको नगर उप-प्रमुखदिपक बिश्वकर्माले जनाएका छन ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, स्थानिय बिपद ब्यवस्थापन समिती, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।


