पूर्व प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाल र खनाल हारेको त्यो चुनाव

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७९

काठमाडौं । जनयुद्ध र जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य घोषणा गरिएपछि भएको संविधानसभा निर्वाचनको परिणाम धेरैका लागि अप्रत्याशित थियो । दश वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा भाग लिएको नेकपा माओवादीका कमै परिचित उम्मेदवारहरूले अरू दलका कतिपय पूर्व प्रधानमन्त्रीहरू र प्रभावशाली उम्मेदवारहरूलाई पराजित गरेका थिए ।

झक्कुप्रसाद सुवेदी जसले माधव नेपाललाई हराए
पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदीले काठमाण्डू क्षेत्र नम्बर २ मा एमालेका पार्टी प्रमुख माधव नेपाललाई पराजित गरेका थिए। आफूले निर्वाचन हारेपछि हाल एकीकृत समाजवादीको अध्यक्ष रहेका नेपालले एमाले नेतृत्वबाट राजीनामा दिएका थिए। तर उनलाई पछि मनोनीत गरेर संविधानसभा सदस्य बनाइयो र नेपाल लगत्तै प्रधानमन्त्री समेत बने।

सुवेदीले नेपाललाई हराएको क्षेत्रको ठूलो भाग त्यही हो जहाँ विसं २०५१को उपनिर्वाचनमा एमाले नेतृ विद्या भण्डारीले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकी थिइन्। पहिलो पटककै निर्वाचनमा प्रभावशाली नेतालाई पराजित गर्न सफल भण्डारी अन्ततः राष्ट्रपति भएकी छिन्। मलाई पार्टी कमिटीहरूले पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए तर मैले आफैँ चुनाव उठ्न नचाहेको हो। म अहिले काठमाण्डू क्षेत्र नम्बर २ मै माओवादी उम्मेदवारलाई जिताउन खटिइरहेको छु, उनले भने ।

राजेन्द्र केसी जसले प्रचण्डलाई हराए
हिलो संविधानसभा निर्वाचनमा बहुमत नजिक पुगेको माओवादीले एक वर्षमै सरकार छाड्नुपरेको र संविधानसभाबाट संविधान बनाउन आफ्ना मुद्दामा साथ नपाएको भन्दै दोस्रो संविधानसभा निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने नारा सहित अभियान चलाएको थियो।

त्यसअघि आफूले निर्वाचन जितेको काठमाण्डू क्षेत्र नम्बर १० र सिराहाबाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डूमा कांग्रेसका स्थानीय नेता राजेन्द्र केसीसँग पराजित भए। त्यस बेला मलाई पार्टी सभापति सुशील कोइरालाले फोन गरेर बधाई दिनुभयो। पार्टी बाहिरबाट पनि धेरैले मेरो जितलाई स्वागत गरे, विसं २०७० को निर्वाचनमा प्रचण्डलाई पराजित गरेपछिको क्षण स्मरण गर्दै केसी भन्छन्। काठमाण्डूबाट पराजित भएपछि प्रचण्ड फेरि काठमाण्डू फर्किएनन्। केसीले भने उक्त क्षेत्रबाट त्यसपछि पनि निरन्तर जित हासिल गरिरहेका छन्।

शम्भुलाल श्रेष्ठ जसले झलनाथ खनाललाई हराए
पहिलो संविधानसभा निर्वाचनमा अप्रत्याशित परिणाम भोगेका धेरै नेताहरूले २०७०को निर्वाचनमा दुई स्थानबाट उम्मेदवारी दिएका थिए। इलाम १ र सर्लाही १ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल सर्लाहीमा माओवादीका शम्भुलाल श्रेष्ठसँग पराजित भए।
माधव नेपालले राजीनामा दिएपछि एमालेको अध्यक्ष बनेका झलनाथ खनाल इलामबाट भने निर्वाचित भएका थिए। खनाललाई पराजित गरेर कुनै समय चर्चाको चुलीमा पुगेका श्रेष्ठ यो पटकको निर्वाचनमा भने चुपचाप घरैमा बसेका छन्।

ओली, सिटौला र खड्कालाई हराउने उम्मेदवार
पहिलो संविधानसभा निर्वाचनमा एमालेका वर्तमान अध्यक्ष केपी ओली पनि माओवादीका विश्वदिप लिङ्देनसँग पराजित भएका थिए। ओलीलाई पराजित गरेका लिङ्देन त्यसपछिका कुनै निर्वाचनबाट सांसद बन्न सकेनन्।
संविधानसभाको त्यो निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग झापाबाट पराजित भएका थिए। राजवंशी यसपालि प्रदेशसभा सदस्यका लागि झापाबाटै उम्मेदवार बनेका छन्। कांग्रेसकै अर्का प्रभावशाली नेता खुमबहादुर खड्कालाई पनि विसं २०६४को पहिलो संविधानसभामा माओवादीका इन्द्रजीत थारुले दाङबाट पराजित गरेका थिए। थारु अहिले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री छन् र प्रदेशसभा निर्वाचनमा दाङबाट उम्मेदवार छन्। समाचार स्रोत: बीबीसी

x