विप्लवको चुनाव बहिष्कार: सुरक्षा रणनीतिमा फेरबदल हुनसक्ने

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७९

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले “चुनाव बहिष्कार” गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि “निगरानी” बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।

त्यस क्रममा कतिपय स्थानमा “निर्वाचन बिथोल्ने सामग्री”सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ। निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि “निर्वाचन सुरक्षा रणनीति र योजना” पुनरवलोकन गर्ने बताइसकेको छ।

आमनिर्वाचनको विरोध गर्नेमा अधिकांश माओवादीबाट छुट्टिएर गएका सानाखाले वाम समूहहरू रहेका छन्। तिनीहरूमध्ये धेरैले अहिलेको संसदीय व्यवस्थाप्रति नै “असहमति” व्यक्त गर्दै निर्वाचनमा भाग नलिने जनाएका छन्। विप्लव समूह पनि भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीनवटा त्यस्ता साना वाम दलले बुधवार वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कार गर्ने जनाएका छन्।

उक्त समूहमा चन्द नेतृत्वको दलबाहेक ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्। त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

यस्ता राजनीतिक समूहले निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि त्यसलाई मध्यनजर गरेर सुरक्षा रणनीति परिवर्तन गरिने निर्वाचन आयोगको भनाइ छ। बुधवारको पत्रकार सम्मेलनमा पनि प्रमुख निर्वाच आयुक्त दिनेश थपलियाले उक्त कुरामा जोड दिएका थिए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, “यो वर्ष हामीलाई त्यस्तो (चुनाव बहिष्कार) होला जस्तो लागेको थिएन। निर्वाचनका सन्दर्भमा आम सहमतिकै वातावरण बन्ला भन्ने लागेको थियो।”

“तर जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हामीले सुरक्षा निकायहरूसँग गम्भीर रूपमा छलफलमा बसेका पनि छौँ तत्अनुसार नै सुरक्षा योजनाको हामी पुनरवलोकन गर्छौँ र तत्अनुसार नै कार्यान्वयन हुन्छ। “… मलाई लाग्छ, यो निर्वाचनमा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुनेछैन।” बीबीसीबाट

x