सोसल मिडिया अनुगमन गर्दै निर्वाचन आयोग

Avatar photo
Dhadingpost
कार्तिक २, २०७९

काठमाडौं । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल, उम्मेदवार, कार्यकर्ता र मतदाताबाट डिजिटल रूपमा आचारसंहिता उल्लंघन हुन नदिन फेसबुक, ट्विटर, युट्युब, टिकटकलगायत सोसल मिडिया कम्पनीसँग सहकार्य थालिएको बताएका छन् । आयोगको आन्तरिक संरचनाले पनि अनुगमन गर्नेछ । प्रेस अफिस नाम दिइएको संरचनामा नेपाल प्रहरीको साइबर ब्युरोका तीनजना अधिकृत, दूरसञ्चारका विज्ञहरूसहित २३ जना कार्यरत छन् । आयोगले प्रेस अफिसका विज्ञलाई अनुगमनमा खटाएको छ । पाँचजना विज्ञले सामाजिक सञ्जाल मात्रै हेर्नेछन् । उल्लंघन गरिएको भेटिए अफिसले आयोगलाई कारबाहीका लागि सिफारिस गर्नेछ ।

आयोगले सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटासँग सहकार्यको सम्झौता गरेको छ । मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डललाई काठमाडौं बोलाएर आयोगले निर्वाचनको समयमा आचारसंहिता विपरीत फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्न सहयोग मागेको हो । ‘आचारसंहिताविपरीत फेसबुकबाट क्यापेनिङ गर्‍यो भने रिपोर्ट गर्न सक्छौँ । भाषागत हिसाबले बुझाइमा ढिलो होला । तर, रिपोर्ट गरेपछि नकारात्मक कुरा के हो भनेर हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले शब्द पहिचान गर्छ । जति रिपोर्ट आयो त्यति नै परीक्षण गर्छ,’ मेटाकी प्रतिनिधि एलीले भनिन् ।

पछिल्लो वर्ष नेपालबाट फेसबुकको सामग्री गलत छ भनेर ९७ जनाले मात्रै रिपोर्ट गरेको भन्दै रिपोर्ट गर्ने अभ्यास नै कम रहेकाले धेरै परीक्षण हुन नसकेको उनले बताइन् । ‘गलत सामग्री हो भन्ने लागेमा रिपोर्ट पठाउनुस् । हामी थप अध्ययन गर्छौँ । त्यस्तो रहेछ भने डिस्प्युटेड म्याटर भनेर कालोसूचीमा राख्छौँ,’ उनले भनिन् । दक्षिण एसिया निर्देशक अजिजले निर्वाचन निष्पक्ष बनाउन आयोगलाई सबै खालको सहयोग गर्न मेटा तयार रहेको प्रतिबद्धता जनाएका छन् । सहकार्यअन्तर्गत मेटाले मंगलबार काठमाडौंमा राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलन आयोजना गरेर चुनावका वेला फेसबुकमा हुने दुस्प्रचारबारे प्रष्ट्याउने प्रयाससमेत गरेको छ ।

x