
कांग्रेस र माओवादी केन्द्रबीच प्रतिनिधिसभाका १६३ सिटमा गठबन्धन भए पनि काठमाडौं–३ र १० भने चुनावी तालमेल भएको छैन । यहाँ एमाले, कांग्रेस र माओवादी केन्द्र एक्ला-एक्लै चुनावी मैदानमा छन् ।
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मुख्य दलहरूबीच उम्मेदवारीमै गठबन्धन छ । आफ्नो प्रभुत्व भएका चुनाव क्षेत्रमै पनि प्रमुख दलहरू एक्ला–एक्लै प्रतिस्पर्धामा छैनन् । कतै नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको उम्मेदवारी छ, त कतै सत्ता गठबन्धनविरूद्ध एमाले नेतृत्वको राप्रपा, जसपासहित दलको गठबन्धन छ ।
देशभर अधिकांश क्षेत्रमा सत्ता गठबन्धनविरूद्ध विपक्षी गठबन्धनका उम्मेदवार छन् । तर काठमाडौंकै दुई वटा निर्वाचन क्षेत्रमा भने कुनै पनि गठबन्धन छैनन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच प्रतिनिधिसभाका १६३ सिटमा गठबन्धन भए पनि काठमाडौं–३ र १० भने चुनावी तालमेल भएको छैन । गठबन्धन गरेकै कारण कांग्रेसले ९१, माओवादी केन्द्रले ४६, एकीकृत समाजवादीले २१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा मात्रै उम्मेदवारी दिएका छन् । तर, काठमाडौं–३ र १० मा भने कांग्रेस र माओवादी केन्द्रले केन्द्रमा भएको गठबन्धनको निर्णय स्वीकारेनन् ।
गठबन्धनमा दुवै क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेशसभामा एक–एक क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति थियो । तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा एकल उम्मेदवारी दिएपछि आफूहरूले पनि उम्मेदवारी दिएको माओवादी केन्द्रका काठमाडौं इन्चार्ज कुमार पौडेलले बताए । ‘केन्द्रमा गठबन्धन गर्ने नै सहमति थियो । तर, केन्द्रको गठबन्धन गर्ने निर्णय कांग्रेसको स्थानीय नेतृत्वले स्वीकारेन,’ पौडेलले भने, ‘त्यही कारण हामीले गठबन्धन गरेनौँ, आफ्नै उम्मेदवार उठायौँ ।’
कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँले यी दुई क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । ‘गठबन्धन गर्ने वा उम्मेदवारी दिने सबै निर्णय माथिबाटै भएको हो, हामीले यी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्दैछौं,’ उनले भने ।गठबन्धनकै कारण एमालेले पनि देशभर १४१ सिटमा मात्रै उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टीले ७९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० र लोकतान्त्रिक समाजवादी पार्टीले ५१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
काठमाडौं–१० मा त्रिपक्षीय भिडन्त: काठमाडौं क्षेत्र नं. १० मा त्रिपक्षीय भीडन्त छ, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको । यहाँ कांग्रेसले राजन केसी (६४), एमालेले हिमेश केसी (३९) र माओवादी केन्द्रले अञ्जना बिशंखे (४८) लाई उम्मेदवार बनाएका छन् । मुख्य प्रतिस्पर्धा यी नै उम्मेदवारहरूबीच हुन सक्ने देखिन्छ । तर, यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको उम्मेदवारी छ ।
कांग्रेस उम्मेदवार केसी कांग्रेस केन्द्रीय सदस्य हुन् भने माओवादी केन्द्रकी उम्मेदवार बिशंखे स्थायी समिति सदस्य हुन् । एमालेका युवा नेता केसी पनि स्थानीय युवामाझ लोकप्रिय मानिन्छन् । तर, यो क्षेत्रमा विगतदेखि कांग्रेसले जित्दै आएको छ ।०७४ मा यहाँबाट केसीले बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए । केसीले २४ हजार १९० मत ल्याउँदा शाक्यले २१ हजार ९०७ मत पाएका थिए । त्यसअघि ०७० मा पनि केसीले नै जितेका थिए ।
त्यो बेला केसीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै चुनाव हारेका थिए । तर, यसपटक भने क्षेत्रको माहोल फेरिएको एमाले र माओवादी नेताहरूको भनाइ छ । एमाले र माओवादी केन्द्रले यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने दाबी गरेका छन् । माओवादी उम्मेदवार बिशंखे ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्की सदस्य हुन् । यसअघि ०७४ मा समानुपातिकतर्फबाट सांसद् बनेकी थिइन् ।
यो क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका दस वडा (२, ३, ४, ५, ६, ७, ८, ९, १० र ११) यस क्षेत्रमा पर्दछन् । स्थानीय तह निर्वाचनमा भने यी तीनवटै स्थानीय तह नेपाली कांग्रेसले जितेको छ । यी नगरपालिकामा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो छन् । ‘कांग्रेसमा पार्टीभित्रै असन्तुष्टि छ । फेरि धेरै जना स्वतन्त्र उम्मेदवार छन्,’ माओवादी केन्द्रका एक नेताले भने, ‘पटक–पटक कांग्रेसलाई जिताउन क्षेत्रको विकासमा खासै काम हुन नसकेको निष्कर्ष छ । त्यही कारण गठबन्धनमा यो क्षेत्र हामीले दाबी गरेका थियौं ।’ कांग्रेस नेताहरूले भने एकल प्रतिस्पर्धा गर्दा समेत जित सहज भएका कारण एकल उम्मेदवारी दिएको बताएका छन् ।
केसीद्वय र बिशंखेसहित यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम थापा (४७), नेपाल मजदुर किसान पार्टीबाट नारायण महर्जन (५८), मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला ३५), हाम्रो नेपाली पार्टीबाट इन्द्रबहादुर बराल (६९), नागरिक उन्मुक्ति पार्टीबाट कुमार लामा (५९), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णलाल श्रेष्ठ (६१), राष्ट्रिय जनमुक्ति पार्टीबाट धनकेशर सुर्यवंशी (६५), नेपाली कांग्रेस (बीपी)बाट सन्तप्रसाद श्रेष्ठ (५१), विवेकशील साझा पार्टीबाट सनन श्रेष्ठ (३६), आमूल परिवर्तन मसिहा पार्टीबाट चेतबहादुर मुक्तान (४०), नेपाल आमा पार्टीबाट गंगाप्रसाद भेटवाल (४६) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदीप विष्ट (४७) उम्मेदवार छन् । त्यस्तै, यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि राजकुमार थापा (५०), रामबाबु ठाकुर (५०), तिलकबहादुर रिज्याल (५५) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौं–३ : राई, चालिसे र बजगाईंबीच त्रिपक्षीय भिडन्त: क्षेत्र नं. १० मा जस्तै त्रिपक्षीय भीडन्त हुन सक्ने देखिन्छ काठमाडौं–३ मा पनि । तर, यहाँ पनि अन्य दल र स्वतन्त्र उम्मेदवारसमेत छन् । यहाँ नेकपा एमालेका कृष्णबहादुर राई (५३), नेपाली कांग्रेसका सन्तोष चालिसे (६४) र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं (४८)लाई उम्मेदवार बनाएका छन् ।
राई यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् हुन् । उनले गत निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवारी दिएर कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला राईले १९ हजार १६९ मत पाएका थिए भने कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । कांग्रेसकी बस्नेत यसपटक समानुपातिकतर्फ उम्मेदवार छिन् ।कांग्रेस उम्मेदवार चालिसे कांग्रेसको क्षेत्रीय कार्यसमितिका सभापति हुन् । उनी गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयरसमेत हुन् । माओवादी केन्द्रका उम्मेदवार बजगाईं पार्टीका केन्द्रीय सदस्य हुन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिका–६, कागेश्वरी नगरपालिका–१,२ र ३ तथा गोकर्णेश्वर नगरपालिका पर्दछन् । गोकर्णेश्वर नगरपालिका कांग्रेसले एक्लौटी जितेको छ भने कागेश्वरी नगरपालिकामा भने गठबन्धनबाट मेयरमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । काठमाडौं महानगरपालिका–६ को वडाध्यक्ष पनि कांग्रेसले नै जितेको थियो ।
यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका मोहनकुमार विश्वकर्मा (४७), राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरी (४८), नेपाल मजदुर किसान पार्टीका विशोक डंगोल (३७), लोकतान्त्रिक समाजवादी पार्टीका मोहनबहादुर बस्नेत (३७), जनमत पार्टीका गोविन्द नेपाल (५८), मौलिक जरोकिलो पार्टीका समिना न्यौपाने (३४), हाम्रो नेपाली पाटीृका द्वारिका अधिकारी (३६), मंगोल नेशनल अर्गनाइजेसनका कृष्णकाजी श्रेष्ठ (६३), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नुर्पु गेन्जेन शेर्पा (४४), सामाजिक लोकतान्त्रिक पार्टीका रक्षकुमार राई (३५), आमूल परिवर्तन मसिहा पार्टीका नेत्रबहादुर तामाङ (३८), राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्री (५४) उम्मेदवार छन् । त्यस्तै, केदारनाथ मिश्र (५५), दिनेश खनाल (४५), कविता विष्ट सुनार (३२), राजेश विष्ट (५३), विन्दु मगर (५५), श्रीकृष्ण ज्योती (५२), जगन्नाथ देवकोटा (६६), निरञ्जन पुडासैनी (४३) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । समाचार स्रोत कान्तिपुर











































