
काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएको छ। गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी खारेज भएको हो। रुपन्देही २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौंडेल आकांक्षी रहेका छन्। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जानकारी दिएका छन्।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै गुरुङको मनोनयन खारेज हुने गरी निर्णय भएको जानकारी दिए। आयोगले गुरुङ कालोसूचीमा रहनुको विस्तृत कारण नखुलाए पनि उनीविरुद्ध अदालतले बैंकिङ कसुरमा जरिवाना गरेको, तर भुक्तानी नगरेकाले उम्मेदवार बन्न अयोग्य ठहर गरेको हो ।











































