शव जलाउँदा–जलाउँदै पहिरोले बगाउँदा १३ जना बेपत्ता

Avatar photo
Dhadingpost
अशोज २५, २०७९

कालिकोट । कालिकोट तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो ।

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन् । उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन् । ‘गाउँका करिब ७० जना मलामी गएका थियौं। धेरै जनामाथि नै थिए। घाटमा शव जलाउँदै गरेका १३ जना पहिरोमा बगे। धेरैले भागेर ज्यान जोगायौं’, स्थानीय बासिन्दा कमल शाहीले भने ।

बेपत्ता हुनेमा कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, मानबहादुर शाही, मोतीलाल शाही, परबहादुर शाही, प्रशान्त शाही र नरेश शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही पनि छन्। राँचुलीका २२ वर्षीय हेमराज शाहीको शनिबार मृत्यु भएपछि उनीहरू आइतबार मलामी गएका थिए। दागबत्ती दिँदादिँदै घटना भएको जनाइएको छ । अन्नपुर्णपोष्टबाट

x