
काठमाडौं । निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारविरुद्धको उजुरी दर्ता गरेको छ । आयोगले एक सय ६५ निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी लिए पनि कति संख्यामा परे भन्ने विवरण भने सार्वजनिक गरेको छैन ।
उजुरी प्रधानमन्त्री शेरबहादुर देउवादेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीविरुद्धसम्म परेको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले परेका उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी उम्मेदवारी कायम रहने–नरहनेबारे टुंगो लगाउने बताए ।
- देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको भन्दै उजुरी
- जेलसजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी रद्द गर्न मागसहित उजुरी
- सञ्जय गौतमको उम्मेदवारी खारेज गर्न कांग्रेसकै अर्का उम्मेदवारको उजुरी
- बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा उम्मेदवार बनेको भन्दै गच्छदारविरुद्ध उजुरी
- गगन थापा र राजन भट्टराईको टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी
‘उम्मेदवारविरुद्ध उजुरी परेका छन् । उजुरीबारे सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी उजुरी पुष्टि हुने आधार भेटेमा उम्मेदवारी रद्द गर्ने र नभएमा उम्मेदवारी कायम रहनेबारे टुंगो लगाउनेछ,’ उनले भने, ‘यसको अधिकार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई नै रहन्छ । केन्द्रमा जानकारी गराउनुपर्ने बाध्यता रहँदैन । आयोग केन्द्रमा के–कति संख्यामा उजुरी परे र कस्ता उजुरी परे भन्ने जानकारी आएको छैन ।’
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को व्यवस्थाअनुसार कुनै उम्मेदवारविरुद्ध अर्को उम्मेदवारले आफैँ या प्रतिनिधिमार्फत उजुरी गर्न सक्ने व्यवस्था छ । परेका उजुरीका सम्बन्धमा छानबिन भइरहेको आयोगले जनाएको छ । आयोगले कार्यतालिकाअनुसार मंगलबार ५ बजे नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यताको आधारमा उजुरीको टुंगो लाग्ने बताए । वाग्लेले ऐनमा रहेको व्यवस्थाका आधारमा निर्वाचन अधिकृतले जाँचबुझ गर्ने र त्यसको आधारका अयोग्य घोषणा गर्न सक्ने बताए । नयाँ पत्रिकाबाट











































